काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच वार्ता रोकिएको भन्ने खबरमा सत्यता नरहेको बताएका छन् ।
ट्रम्पले पश्चिम एसियामा जारी तनावका बाबजुद दुवै देशबीच संवाद निरन्तर रहेको बताएका छन् । सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा लेख्दै उनले वार्ता टुटेको भन्ने दाबी पूर्ण रूपमा गलत भएको उल्लेख गरेका छन् ।
केही दिनदेखि दुवै पक्षबीच लगातार छलफल भइरहेको उनले प्रस्ट पारेका छन् । ट्रम्पले इरानमाथि नयाँ सम्झौताका लागि कडा दबाब पनि सिर्जना गरेको बताइएको छ । उनले यो वार्ता कहाँ पुग्छ भन्ने कसैलाई थाहा नभएको बताउँदै भने, “तर मैले इरानलाई भनेको छु, अब तपाईंहरूका लागि सम्झौता गर्ने समय आएको छ । तपाईंहरू ४७ वर्षदेखि यही गरिरहनुभएको छ, यसलाई अब अझ अगाडि बढाउन सकिँदैन ।”
यद्यपि, ट्रम्पको यो अडान इरानको ‘तस्निम न्युज एजेन्सी’को रिपोर्टसँग मेल खाँदैन । इरानी सञ्चारमाध्यमहरूको दाबीअनुसार लेबनानमा इजरायलको सैन्य अभियानका कारण इरानले अप्रत्यक्ष वार्तामा हाललाई रोक लगाएको छ ।