काठमाडौँ । इरानतर्फ जाँदै गरेको एक मालवाहक जहाजमाथि अमेरिकी सेनाले क्षेप्यास्त्र प्रहार गरेको छ। उक्त जहाजले अमेरिकी नाकाबन्दी तोडेर इरानको बन्दरगाहतर्फ प्रवेश गर्ने प्रयास गरेपछि यो कारबाही गरिएको बताइएको छ।
अमेरिकी केन्द्रीय कमाण्डका अनुसार गाम्बियाको झण्डा बोकेको उक्त जहाजलाई इरानको बन्दरगाह प्रवेश गर्न नदिन २० भन्दा बढी पटक चेतावनी दिइएको थियो। तर चेतावनीलाई बेवास्ता गरेपछि जहाजको इन्जिन क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरिएको जनाइएको छ। घटनापछि जहाज ओमानको खाडी क्षेत्रमा चल्न नसक्ने अवस्थामा रहेको छ भने अमेरिकी सेनाले हालसम्म जहाज नियन्त्रणमा लिएको छैन। अमेरिकी सेनाका अनुसार नाकाबन्दी लागू भएयता इरानतर्फ जान खोज्ने ६ वटा जहाजलाई रोकिएको छ। तीमध्ये एक जहाजलाई पछि अगाडि बढ्न अनुमति दिइएको थियो भने ११६ वटा जहाजलाई आफ्नो मार्ग परिवर्तन गर्न बाध्य पारिएको बताइएको छ। अमेरिकाले सन् २०२६ अप्रिल १७ देखि इरानमाथि समुद्री नाकाबन्दी लागू गरेको हो।
यो कदम इरानले होर्मुज जलडमरूमध्य क्षेत्रमा आवागमन नियन्त्रण गरेपछि चालिएको बताइएको छ। मध्यपूर्वमा युद्ध फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको बताइन्छ। हाल अप्रिल ७ मा भएको युद्धविराम कायम रहे पनि इरानको आणविक कार्यक्रमबारे वार्ता र युद्धविराम थप विस्तार गर्ने विषयमा छलफल भइरहेको छ। होर्मुज जलडमरूमध्य विश्वको महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक भएकाले यहाँको तनावले तेल, ग्यास र अन्य आपूर्तिमा असर पार्दै विश्व अर्थतन्त्रमा दबाब सिर्जना गरेको छ। अमेरिकाको नाकाबन्दीको उद्देश्य इरानको व्यापार तथा तेल निर्यात नियन्त्रण गरी उसको अर्थतन्त्रमा दबाब बढाउनु रहेको बताइएको छ।