काठमाडौँ । अमेरिकी अर्बपति जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनले फेरि ठूलो झट्का व्यहोरेको छ । कम्पनीको महत्वाकांक्षी ‘न्यू ग्लेन’ रकेट फ्लोरिडास्थित केप क्यानाभेरलको प्रक्षेपण केन्द्रमा परीक्षणका क्रममा विस्फोट भएको हो ।
बिहीबार गरिएको ‘हटफायर’ परीक्षणका बेला रकेटमा अचानक समस्या देखिएपछि विस्फोट भएको कम्पनीले जनाएको छ । घटनामा कुनै मानवीय क्षति नभएको र सबै कर्मचारी सुरक्षित रहेको जानकारी ब्लू ओरिजिनले सामाजिक सञ्जाल एक्समार्फत दिएको छ । सार्वजनिक भिडियोहरूमा करिब ९८ मिटर अग्लो रकेटको तल्लो भागबाट बाक्लो धुवाँ निस्किएको र केही समयमै ठूलो आगलागी भएको देखिन्छ ।‘न्यू ग्लेन’ परियोजना ब्लू ओरिजिनको दीर्घकालीन अन्तरिक्ष योजनाको मुख्य हिस्सा मानिन्छ । त्यसैले यो दुर्घटनाले कम्पनीको भविष्यका अन्तरिक्ष कार्यक्रममाथि थप चुनौती खडा गरेको विश्लेषण गरिएको छ । कम्पनीका संस्थापक जेफ बेजोसले घटनाको कारण पत्ता लगाउन समय लाग्ने बताएका छन् । उनले आवश्यक संरचना पुनः निर्माण गरी कम्पनीलाई पुनः उडानमा फर्काइने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
ब्लू ओरिजिनका प्रतिस्पर्धी कम्पनी स्पेसएक्सका प्रमुख एलन मस्कले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै यसलाई दुर्भाग्यपूर्ण घटना बताएका छन् । फ्लोरिडाका सांसद माइक ह्यारिडोपोलोसले घटनापछि आफू नासाका प्रशासक जारेड आइज्याकम्यानसँग सम्पर्कमा रहेको जानकारी दिएका छन् । उनले कुनै मानवीय क्षति नभएकोमा राहत व्यक्त गर्दै उद्धारकर्मी र प्राविधिक टोलीको प्रशंसा गरेका छन् । हाल नासा र ब्लू ओरिजिन आर्टेमिस चन्द्र अभियानअन्तर्गत चन्द्र ल्यान्डर निर्माणमा सहकार्य गरिरहेका छन् । नासाले घटनाबारे जानकारी रहेको जनाउँदै विस्तृत अनुसन्धान सुरु गरिएको बताएको छ । साथै, आगामी अन्तरिक्ष मिसनमा पर्न सक्ने प्रभावबारे पनि अध्ययन भइरहेको जनाइएको छ ।
ब्लू ओरिजिन यसअघि पनि प्राविधिक समस्याका कारण चर्चामा आएको थियो । गत महिना ‘न्यू ग्लेन’ रकेटले सञ्चार उपग्रहलाई निर्धारित कक्षामा पुर्याउन सकेको थिएन । त्यसपछि अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए)ले कम्पनीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो । कम्पनीका अनुसार मे २२ मा सार्वजनिक गरिएको प्रारम्भिक विवरणमा अत्यधिक तापीय अवस्थाका कारण एउटा इन्जिनले अपेक्षित शक्ति दिन नसक्दा लक्ष्यित कक्षा गुमेको उल्लेख गरिएको थियो ।