काठमाडौँ । अमेरिका र इरानबीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि उकालो लागेको छ भने एशियाली शेयर बजारमा गिरावट देखिएको छ।
अमेरिकाले इरानमाथि नयाँ सैन्य कारबाही गरेपछि मध्यपूर्वमा युद्धविराम कमजोर बन्दै गएको संकेत मिलेका छन्, जसको असर विश्व बजारमा देखिएको हो। बुधबार सम्भावित शान्ति सम्झौताप्रति आशा बढेपछि तेलको मूल्य घटेको थियो। तर पछिल्लो घटनाक्रमपछि तेलको मूल्य पुनः बढ्न थालेको छ। अमेरिकी अधिकारीहरूका अनुसार अमेरिकी सेनाले इरानका चार ड्रोन खसाल्नुका साथै बन्दर अब्बासस्थित एक नियन्त्रण केन्द्रमा आक्रमण गरेको छ।
अमेरिकी पक्षले उक्त कारबाहीलाई रक्षात्मक कदम भएको जनाएको छ। यता इरानको सरकारी सञ्चारमाध्यमले भने जलडमरूमध्य क्षेत्रमा चार जहाजमाथि गोली प्रहार गरिएको जनाएको छ। कुवेतले पनि मिसाइल र ड्रोन आक्रमणविरुद्ध आफ्नो हवाई सुरक्षा प्रणाली सक्रिय गरिएको जानकारी दिएको छ। तनाव बढेपछि अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य बढेर प्रतिव्यारेल ९५ डलरभन्दा माथि पुगेको छ। अमेरिकी कच्चा तेलको मूल्य पनि वृद्धि भएको छ। यसको प्रभाव एशियाली शेयर बजारमा पनि परेको छ। हङकङसहित अधिकांश बजारका सूचकांक ओरालो लागेका छन्।