काठमाडौँ। अष्ट्रेलियाको गृह मामिला विभागले प्रशिक्षण भिसा सबक्लास ४०७ प्रशिक्षण भिसा कार्यक्रमको दुरुपयोग रोक्न देशभर विशेष अभियान सञ्चालन गरेको छ। अष्ट्रेलियन बोर्डर फोर्स एबीएफका अधिकारीहरूले नक्कली प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा आप्रवासी कामदारको शोषण गर्ने रोजगारदाताहरूलाई लक्षित गर्दै यो अभियान अघि बढाएका हुन्।
हालसम्म देशभर १०० भन्दा बढी कार्यस्थलमा अनुगमन गरिसकिएको छ भने थप १०० कार्यस्थलमा पनि निरीक्षण गर्ने तयारी गरिएको विभागले जनाएको छ। प्रारम्भिक अनुगमनका क्रममा केही रोजगारदाताहरूले वास्तविक प्रशिक्षण योजना बिना नै कामदारलाई राख्ने गरेको र प्रशिक्षार्थीहरूलाई उनीहरूको भिसा अनुसारको प्रशिक्षणभन्दा फरक काममा लगाइएको पाइएको छ। गृह मामिला विभागले सबक्लास ४०७ प्रशिक्षण भिसासंरचित कार्यस्थल–आधारित प्रशिक्षण तथा पेशागत विकासका लागि मात्र भएको स्पष्ट गरेको छ। यो भिसा नियमित रोजगारीका लागि प्रयोग गर्न नपाइने पनि विभागले जनाएको छ। अष्ट्रेलियामा सबै कामदारलाई उनीहरूको भिसा अवस्थाको परवाह नगरी समान र न्यायपूर्ण व्यवहार पाउने अधिकार रहेको भन्दै नियम उल्लङ्घन गर्ने स्पोन्सर तथा रोजगारदातामाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।