काठमाडौं । अष्ट्रेलियाको भिसा प्रणाली दुरुपयोग गर्ने रोजगारदातामाथि कडा निगरानी सुरु गरिएको छ । अष्ट्रेलियाको गृह मामिला विभाग अन्तर्गतको अष्ट्रेलियालियाली सीमा बलले प्रशिक्षण भिसा कार्यक्रम लक्षित गर्दै देशव्यापी विशेष अपरेशन सुरु गरेको हो।
यो अभियान विशेषगरी नक्कली तालिम कार्यक्रम सञ्चालन गर्ने तथा आप्रवासी कामदारलाई शोषण गर्दै भिसा प्रणाली कमजोर बनाउने रोजगारदाताविरुद्ध केन्द्रित रहेको बताइएको छ।
हालसम्म एबीएफका अधिकारीहरूले क्षेत्रीय अष्ट्रेलियाका विभिन्न स्थानमा सय भन्दा बढी कार्यस्थलमा अनुगमन गरिसकेका छन् भने थप सय कार्यस्थलमा पनि छड्के निरीक्षण गरिने तयारी छ।
प्रारम्भिक अनुसन्धानमा केही रोजगारदातासँग वास्तविक तालिम योजना नभएको तथा तालिमका नाममा आएका कामदारलाई स्वीकृत तालिमसँग सम्बन्ध नभएका काममा लगाइएको भेटिएको छ।
सबक्लास ४०७ प्रशिक्षण भिसा कार्यस्थलमा संरचित तालिम र व्यावसायिक विकासका लागि मात्रै प्रदान गरिने भिसा रहेको र नियमित रोजगारीका लागि नभएको जनाएको छ ।
अष्ट्रेलियामा काम गर्ने सबै श्रमिकले भिसा अवस्थाभन्दा माथि उठेर निष्पक्ष व्यवहार पाउने अधिकार राख्ने भन्दै नियम उल्लंघन गर्ने स्पोन्सर तथा रोजगारदातामाथि कडा कारबाही गरिने एबिएफले जनाएको छ।