काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्भावित सम्झौताअघि नयाँ सर्त अघि सारेका छन् ।
उनले इरानसँग कुनै पनि सम्झौता हुनुअघि ६ मुस्लिम बहुल देशहरू इजरायलसँगको ‘अब्राहम सम्झौता’मा सामेल हुनुपर्ने बताएका छन् ।
ट्रम्पले साउदी अरब, कतार, पाकिस्तान, टर्की, इजिप्ट र जोर्डनलाई अब्राहम सम्झौतामा सामेल हुन आग्रह गरेका छन् । रोयटर्सका अनुसार ट्रम्पले यसलाई अनिवार्य सर्तका रूपमा प्रस्तुत गरेका हुन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै इरानसँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको दाबी गरेका छन् ।
ट्रम्पले लेखेका छन्, “इरानसँगको वार्ता राम्रो भइरहेको छ । यो या त सबैका लागि उत्कृष्ट सम्झौता हुनेछ, अन्यथा कुनै सम्झौता हुने छैन ।” उनले सम्झौता असफल भए ठूलो द्वन्द्व हुन सक्ने चेतावनी पनि दिएका छन् ।
उनले यूएई र बहराइनसँग पनि यसबारे छलफल गरेको बताएका छन् । ट्रम्पका अनुसार यो प्रक्रिया साउदी अरब र कतारबाट सुरु हुनुपर्ने र त्यसपछि अन्य देशहरू क्रमशः सामेल हुनुपर्ने बताइएको छ ।
उनले अमेरिकाले इरानसम्बन्धी संकट समाधानका लागि धेरै मेहनत गरेको दाबी गर्दै अधिकांश मुस्लिम देशहरू अब्राहम सम्झौतामा सामेल हुनुपर्ने बताएका हुन् ।
ट्रम्पले यदि, कुनै देश यस प्रक्रियामा सामेल हुन नचाहे त्यसलाई इरानसँगको सम्भावित सम्झौतामा पनि सहभागी गराइनु नहुने टिप्पणी गरे । यद्यपि, विशेष कारण भएका एक–दुई देशलाई अपवाद मान्न सकिने संकेत पनि उनले दिएका छन् ।
उनले शनिबार धेरै मुस्लिम तथा अरब नेताहरूसँग टेलिफोन संवाद गरेका थिए । ती नेताहरूमा साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान, यूएईका राष्ट्रपति मोहम्मद बिन जायद, कतारका अमिर तमीम बिन हमाद, कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान, पाकिस्तानका आर्मी चीफ फिल्ड मार्सल आसिम मुनिर, टर्कीका राष्ट्रपति रेसेप तईप एर्दोगान, इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसी, जोर्डनका किङ अब्दुल्ला द्वितीय र बहराइनका किङ हमाद बिन ईसा अल खलिफालगायत रहेका थिए ।
ट्रम्पले यसअघि नै सम्झौतामा सामेल भइसकेका मोरोक्को, यूएई, बहराइन र क्गमबललाई आर्थिक तथा व्यापारिक रूपमा फाइदा पुगेको दाबी गरेका छन्।
ट्रम्पले यी सम्झौतामा सहभागी देशहरूले आर्थिक, सामाजिक र रणनीतिक फाइदा पाएको दाबी गर्दै आएका छन् । यद्यपि, धेरै मुस्लिम देशहरूले प्यालेस्टिनी मुद्दाको स्थायी समाधानबिना इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्न अस्वीकार गर्दै आएका छन् ।