काठमाडौँ । चीनले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई थप विस्तार गर्ने लक्ष्यसहित आइतबार राति शेनझोउ–२३ अन्तरिक्ष यान प्रक्षेपण गरेको छ। तीन अन्तरिक्ष यात्री बोकेको यो मिसनलाई दीर्घकालीन अन्तरिक्ष बसाइ र वैज्ञानिक अनुसन्धानका दृष्टिले महत्वपूर्ण मानिएको छ।
उत्तरपश्चिम चीनको जियुकुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट उडाइएको यस यानमार्फत चीनले मानवलाई चन्द्रमामा पठाउने महत्वाकांक्षी योजनातर्फ अर्को कदम अघि बढाएको छ। चीनले सन् २०३० भित्र पहिलोपटक चन्द्रमामा मानव अवतरण गराउने लक्ष्य लिएको छ। मिसनमा कमान्डर झु याङ्झु, झाङ झियुआन र लाइ का–यिङ सहभागी छन्। हङकङमा जन्मिएका लाइलाई सहर पृष्ठभूमिबाट अन्तरिक्ष मिसनमा सहभागी हुने पहिलो चिनियाँ अन्तरिक्ष यात्रीका रूपमा हेरिएको छ। सरकारी सञ्चारमाध्यमका अनुसार टोलीले टियाङ्गोङ अन्तरिक्ष स्टेशनमा पुगेर विभिन्न वैज्ञानिक अनुसन्धान र प्रयोग सञ्चालन गर्नेछ।
हाल स्टेशनमा कार्यरत शेनझोउ–२१ टोलीसँग भेट गरी जिम्मेवारी हस्तान्तरणसमेत गरिनेछ। यस मिसनको विशेष पक्ष भनेको एक अन्तरिक्ष यात्रीलाई लगातार एक वर्षसम्म अन्तरिक्ष स्टेशनमा राख्ने योजना हो। यसबाट लामो समयसम्म अन्तरिक्षमा बस्दा मानव शरीरमा पर्ने प्रभावबारे अध्ययन गरिने जनाइएको छ। चीनले पछिल्ला वर्षहरूमा अन्तरिक्ष क्षेत्रमा तीव्र प्रगति गर्दै आएको छ। अमेरिकी प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट बाहिरिएपछि चीनले आफ्नै ‘टियाङ्गोङ’ अन्तरिक्ष स्टेशन निर्माण गरेको थियो। विश्लेषकहरूका अनुसार अन्तरिक्ष क्षेत्रमा चीन र अमेरिकाबीच प्रतिस्पर्धा झन् तीव्र बन्दै गएको छ। अमेरिकाले पनि सन् २०२८ सम्म पुनः चन्द्रमामा मानव पठाउने योजना अघि सारेको छ।