काठमडौँ। बेलायतका राजा चार्ल्स तृतीयले कृत्रिम बुद्धिमत्ता (एआई) गलत व्यक्तिको हातमा परे मानव अस्तित्वमै गम्भीर खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्।
समाजको हितमा एआई प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा स्कटल्यान्डको आयरशायरस्थित डम्फ्रिज हाउसमा आयोजित एक शिखर बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। बैठकमा बेलायतका एआई मन्त्री कनिष्का नारायण, पोपका सल्लाहकार तथा एनभिडिया, ओपनएआई र एन्थ्रोपिकजस्ता प्रमुख एआई कम्पनीका प्रतिनिधिहरू सहभागी थिए।
एआई प्रविधिको क्षमता तीव्र रूपमा विस्तार भइरहेका बेला यसको सम्भावित जोखिम र नियमनबारे पछिल्लो समय प्रविधि क्षेत्रभित्रैबाट विभिन्न चेतावनी आइरहेका छन्। राजा चार्ल्सले एआई विकासमा संलग्न व्यक्तिहरूले नै पछिल्लो समय यस प्रविधिले अझ गम्भीर र अँध्यारा क्षमता विकास गर्न सक्ने चेतावनी दिइरहेको बताए। उनका अनुसार भविष्यमा एआईले मानिसको ज्यान लिनेसम्मका जोखिम निम्त्याउन सक्ने सम्भावनालाई समेत गम्भीरतापूर्वक विचार गर्नुपर्ने अवस्था आएको छ।
उनले एआई गलत हातमा पुगेर विनाशकारी रूपमा प्रयोग हुन सक्ने सम्भावित जोखिमलाई पर्याप्त रूपमा सम्बोधन गर्न तत्काल ध्यान दिनुपर्ने बताए। ‘तपाईंहरूको जिम्मेवारी केवल प्रविधिको विकास गर्नु मात्र होइन,’ उनले भने, ‘एआई मानवता, समुदाय र प्राकृतिक संसारको हितमा प्रयोग हुने सुनिश्चित गर्नु पनि हो।’ राजा चार्ल्सले एआईको भविष्यका लागि साझा सिद्धान्त निर्माण गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा छलफल गर्न बैठक आयोजना गरिएको बताए।
‘सुरक्षित छैन भने उत्पादन रोक्नुपर्छ’
बैठकमा एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ पनि सहभागी थिए। एआईका लागि आवश्यक चिप तथा पूर्वाधार उपलब्ध गराउने प्रमुख कम्पनीका रूपमा एनभिडिया अहिले विश्वको एआई उद्योगमा महत्वपूर्ण भूमिकामा छ। ह्वाङले एआईको सुरक्षालाई अत्यन्तै महत्वपूर्ण विषय भएको बताए। कुनै उत्पादन पर्याप्त सुरक्षित नभएको अवस्थामा त्यसलाई बजारमा ल्याउनुको सट्टा थप सुधार गर्नुपर्ने उनको भनाइ थियो।
उनले खुला एआई मोडलको महत्वसमेत औँल्याउँदै यसको माध्यमबाट मानिस र विभिन्न देशहरू एआई प्रविधिको विकासबाट पछाडि नपर्ने वातावरण बनाउन सकिने बताए। तर त्यस्ता प्रणालीलाई सुरक्षित बनाउनु पनि उत्तिकै आवश्यक रहेको उनले बताए। अनुसन्धानकर्ता, विश्वविद्यालय, स्टार्टअप तथा विभिन्न देशले एआईको प्रयोगमार्फत नयाँ सम्भावनाहरू विकास गर्न सक्ने उनको भनाइ थियो।
‘एजीआई केही वर्षमै आउन सक्छ’
गुगलले अधिग्रहण गरेको एआई अनुसन्धान संस्था डीपमाइन्डका सहसंस्थापक सर डेमिस ह्यासाबिसले भने एआईको विकासको गति अझै सावधानीपूर्वक हेर्नुपर्ने बताए। मानिसले गर्ने विभिन्न काममा मानवसरह वा त्यसभन्दा राम्रो क्षमता प्रदर्शन गर्न सक्ने ‘आर्टिफिसियल जनरल इन्टेलिजेन्स’ (एजीआई) प्रणाली अब केही वर्षभित्रै विकास हुन सक्ने उनले बताए। उनका अनुसार एजीआईले औद्योगिक क्रान्तिले पारेको प्रभावभन्दा पनि करिब १० गुणा ठूलो प्रभाव पार्न सक्छ। यद्यपि यस क्रममा केही गम्भीर समस्या उत्पन्न हुने सम्भावना शून्य नभएको उनले बताए। जोखिम न्यूनीकरणका लागि मानव समुदायले सामूहिक रूपमा पर्याप्त समय र अवसर पाए समाधान खोज्न सकिने उनको धारणा थियो। ‘भविष्य अझै लेखिएको छैन,’ ह्यासाबिसले भने।
‘एआईले कठिन समस्या समाधान गर्न सक्छ’
ओपनएआईकी प्रमुख वित्तीय अधिकृत सारा फ्रियरले एआईले समाजका केही जटिल समस्याहरू समाधान गर्ने ठूलो सम्भावना बोकेको बताइन्। तर एआईको क्षमता तीव्र रूपमा बढ्दै जाँदा यसको सुरक्षा र मानिसकै हितमा प्रयोग कसरी सुनिश्चित गर्ने भन्ने प्रश्न पनि गम्भीर बन्दै गएको उनले बताइन्। उनका अनुसार एआईबाट उत्पन्न हुन सक्ने जोखिमको समाधान कुनै एउटा कम्पनी वा सरकारले मात्र गर्न सक्दैन। राजा चार्ल्सले यस्तो महत्वपूर्ण समयमा विभिन्न पक्षलाई एकै ठाउँमा ल्याएर छलफलको वातावरण बनाएकोमा उनले आभार व्यक्त गरिन्।