काठमाडौँ । रूसले युक्रेनमाथि ठूलो मात्रामा मिसाइल र ड्रोन हमला गरेको छ। आइतबार राति युक्रेनको राजधानी किभमा गरिएको आक्रमणलाई युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो हमलामध्ये एक मानिएको छ।
युक्रेनी वायुसेनाका अनुसार रूसले एकै रात करिब ९० वटा मिसाइल र ६०० ड्रोन प्रहार गरेको छ। आक्रमणका कारण राजधानी किभका दर्जनौं भवन क्षतिग्रस्त भएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ले करिब ३० भन्दा बढी भवन ध्वस्त वा क्षतिग्रस्त भएको बताएका छन्। हमलापछि हजारौं नागरिक मेट्रो स्टेशनमा आश्रय लिन बाध्य भएका थिए। आक्रमणमा आवासीय भवन, विद्यालय, संग्रहालय तथा ऐतिहासिक संरचनामा समेत क्षति पुगेको छ। यस घटनामा दुई जनाको मृत्यु र झन्डै एक सय जना घाइते भएको बताइएको छ। युक्रेनी अधिकारीहरूले रूसले आणविक हतियार बोक्न सक्ने ओरेसनिक हाइपरसोनिक मिसाइल प्रयोग गरेको दाबी गरेका छन्। यस मिसाइललाई अत्यन्त तीव्र र शक्तिशाली आक्रमण क्षमता भएको आधुनिक हतियारका रूपमा वर्णन गरिएको छ।
युरोपेली नेताहरूले यस हमलाको कडा निन्दा गरेका छन्। बेलायत र जर्मनीले यसलाई युद्धलाई अझ खतरनाक दिशातर्फ लैजाने कदम भन्दै चिन्ता व्यक्त गरेका छन्। रूसले भने युक्रेनले आफ्नो संरचनामा आक्रमण गरेपछि जवाफी कारबाही गरिएको दाबी गरेको छ। रूसी रक्षा मन्त्रालयका अनुसार सैन्य कमान्ड केन्द्र, हवाई अड्डा र सैन्य उद्योगलाई लक्षित गरी आक्रमण गरिएको हो। मस्कोले नागरिकलाई लक्षित नगरेको दाबी गरे पनि युद्धका क्रममा युक्रेनी शहरहरूमा ठूलो मानवीय क्षति भइरहेको छ। विश्लेषकहरूका अनुसार ओरेसनिक मिसाइल परमाणु वा परम्परागत वारहेड बोक्न सक्षम छ र यसलाई रोक्न निकै कठिन मानिन्छ।