काठमाडौँ । वैज्ञानिकहरूले गहिरो समुद्रमा दुर्लभ नीलो रङको नयाँ अक्टोपस प्रजाति पत्ता लगाएका छन्। ग्यालापागोस टापु नजिक समुद्रको करिब १८ सय मिटर गहिराइमा यो अनौठो समुद्री जीव फेला परेको हो।
समुद्री सतहबाट धेरै तल गरिएको अन्वेषणका क्रममा वैज्ञानिकहरूले नियन्त्रित पनडुब्बीमार्फत यो सानो अक्टोपस पहिलो पटक देखेका थिए। यसको असाधारण नीलो रङ, सानो आकार र अनौठो बनावटले अनुसन्धानकर्ताहरूलाई चकित बनाएको छ। चार्ल्स डार्विन फाउन्डेसनको टोलीले यो प्रजाति पत्ता लगाएको हो। अनुसन्धानकर्ताहरूका अनुसार पहिलो दृश्यमै यो जीव निकै विशेष रहेको महसुस भएको थियो। पछि गरिएको अध्ययनका क्रममा शिकागोस्थित फिल्ड म्युजियम अफ नेचुरल हिस्ट्रीका विशेषज्ञहरूले यसको संरचना र विशेषताबारे विस्तृत अनुसन्धान गरेका थिए। नमूना प्राप्त भएपछि आधुनिक सीटी स्क्यान प्रविधिबाट यसको ३डी मोडेल तयार गरी अध्ययन गरिएको थियो।
वैज्ञानिकहरूले यस नयाँ प्रजातिलाई माइक्रोलेडोन ग्यालापाजेन्सिस नाम दिएका छन्। यो अक्टोपस आफ्नो नीलो रङका कारण विशेष रूपमा चिनिएको छ, जुन प्रकृतिमा अत्यन्तै दुर्लभ मानिन्छ। अनुसन्धानअनुसार यो प्रजाति मेगालेडोनिडे परिवारसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ। तर यसको आकार सानो हुनु र फरक बासस्थानमा भेटिनु वैज्ञानिकहरूका लागि अझै अनुसन्धानको विषय बनेको छ। वैज्ञानिक जेनेट भ्वाइटका अनुसार यसको शरीरको संरचना, हातको बनावट र रङको संयोजनले यसलाई अन्य अक्टोपस प्रजातिभन्दा फरक बनाएको छ। यसको माथिल्लो भाग हल्का नीलो र तल्लो भाग गाढा बैजनी रङको देखिन्छ, जसले गहिरो समुद्रमा सुरक्षा प्रदान गर्न मद्दत गर्ने अनुमान गरिएको छ।वैज्ञानिकहरूका अनुसार पृथ्वीको ठूलो हिस्सा अझै समुद्री रूपमा अन्वेषण हुन बाँकी रहेकाले यस्ता नयाँ प्रजाति भेटिनु असामान्य होइन। यस खोजलाई समुद्री जैविक विविधता अध्ययनमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।