काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच इरानसँग सम्बन्धित कूटनीतिक प्रयासलाई लिएर तनावपूर्ण टेलिफोन संवाद भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एक्सीओसले जनाएको छ।
रिपोर्टअनुसार अमेरिका र इरानबीच परमाणु कार्यक्रम तथा क्षेत्रीय सुरक्षाका विषयमा सहमति खोज्ने नयाँ प्रयासबारे दुई नेताबीच छलफल भएको थियो। उक्त पहलमा कतार, पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टजस्ता देशहरू मध्यस्थकर्ताको भूमिकामा रहेका छन्। फोनवार्तापछि प्रधानमन्त्री नेतन्याहू अमेरिकी पहलप्रति असन्तुष्ट बनेको र उनले कडा प्रतिक्रिया जनाएको स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा उल्लेख गरिएको छ। अमेरिका र इरानबीच प्रस्तावित नयाँ सम्झौतामा इरानको परमाणु कार्यक्रम र रोक्का गरिएका सम्पत्तिसम्बन्धी विषय समेटिने अपेक्षा गरिएको छ।
राष्ट्रपति ट्रम्पले कूटनीतिक समाधानको सम्भावनालाई खुला राखे पनि आवश्यक परे सैन्य विकल्प कायम रहने संकेत दिएका छन्। उनले वर्तमान अवस्था सम्झौता र द्वन्द्वको बीचमा रहेको बताएका छन्। इरानले संशोधित प्रस्तावमाथि अध्ययन भइरहेको जनाएको छ तर आफ्नो अडानमा ठूलो परिवर्तन नभएको संकेत गरेको छ। यता इजरायलले भने वार्ताप्रति चिन्ता व्यक्त गर्दै इरानमाथि थप कडा नीति अपनाउनुपर्ने धारणा राखेको बताइएको छ। रिपोर्टअनुसार इरान नीतिका विषयमा ट्रम्प र नेतन्याहूबीच स्पष्ट मतभेद देखिएको छ। हालसम्म ह्वाइट हाउस र इजरायली प्रधानमन्त्री कार्यालयले यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्।