काठमाडौैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरान लाई आणविक सम्झौता र युद्धविरामबारे छिटो सहमतिमा आउन चेतावनी दिएका छन्।
उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत “समय धेरै कम रहेको” भन्दै ढिला भए परिणाम गम्भीर हुने संकेत गरेका छन्। ट्रम्पका अनुसार, इरानले ढिलाइ गरेमा स्थिति नियन्त्रण बाहिर जान सक्नेछ। उनको सन्देश मुख्यतः अमेरिकाले अघि सारेको प्रस्तावमा सहमति जनाउन दबाब दिने उद्देश्यले आएको देखिन्छ। उता इरानी सञ्चारमाध्यमहरूले भने तेहरान ले अघि सारेको युद्धविराम प्रस्तावमा अमेरिका सकारात्मक नदेखिएको आरोप लगाएका छन्।
यसअघि पनि ट्रम्पले इरान सम्झौतामा सहमत नभए ठूलो विनाश हुने चेतावनी दिएका थिए। पछिल्ला दिनमा उनले केही लचकता देखाउँदै इरानले २० वर्षका लागि आफ्नो आणविक कार्यक्रम रोक्ने प्रस्ताव स्वीकार गर्न सक्ने संकेत समेत गरेका छन्, जसले उनको पुरानो कडा अडानमा केही परिवर्तन आएको देखिन्छ।