काठमाडौँ । बीजिङमा आयोजित राजकीय भोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र संयुक्त राज्य अमेरिका प्रतिस्पर्धी होइन, साझेदार बन्नुपर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्मानमा आयोजित भोजमा उनले दुई देशबीच सहकार्यबाट दुवै पक्ष लाभान्वित हुने र टकरावबाट दुवैलाई क्षति हुने धारणा व्यक्त गरे ।
सी जिनपिङका अनुसार चिनियाँ राष्ट्रको विकास र अमेरिकाको “मेक अमेरिका ग्रेट अगेन” लक्ष्य सँगसँगै अघि बढ्न सक्ने सम्भावना छ । उनले चीन–अमेरिका सम्बन्धलाई सफल बनाउन आवश्यक रहेको र यसलाई बिगार्न नहुनेमा जोड दिए । उनले दुवै देश प्रतिद्वन्द्वी होइन, साझेदार हुनुपर्ने उल्लेख गर्दै स्थिर, सुदृढ र दिगो सम्बन्ध विकास गर्नुपर्ने बताए । यस्तो सहकार्यले विश्वमा शान्ति, समृद्धि र प्रगतिमा योगदान पुर्याउने उनको भनाइ थियो । अमेरिकी राष्ट्रपति ट्रम्पको यो चीन भ्रमण करिब नौ वर्षपछि भएको पहिलो औपचारिक उच्चस्तरीय भ्रमण भएको बताइएको छ ।