बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच चीनको उच्च राजनीतिक केन्द्र झोङनान्हाईमा महत्त्वपूर्ण भेटवार्ता सुरु भएको छ।
ह्वाइट हाउस पुल रिपोर्टका अनुसार सुरक्षाको कडा प्रबन्धबिच भएको यो भेटको समाचार संकलनका लागि सीमित संख्यामा मात्र पत्रकारहरूलाई प्रवेश अनुमति दिइएको छ। राष्ट्रपति ट्रम्पको सवारीका लागि सडकहरू पूर्ण रूपमा खाली गरिएको थियो ।
यसअघि, चिनियाँ सञ्चारमाध्यमहरूले विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै बिहीबार भएको भेटमा दुई नेताबिच दुवै देश र विश्वसँग सम्बन्धित प्रमुख मुद्दाहरूमा गहन विचार आदानप्रदान भएको थियो। भेटका क्रममा ट्रम्प र सी नयाँ सहमतिहरूमा पुगेको बताइएको छ।
चिनियाँ अधिकारीहरूले छलफलका विशिष्ट विषयहरूका बारेमा विस्तृत विवरण नदिए पनि दुवै राष्ट्रपतिबिच एकअर्काका चासोहरूलाई उचित रूपमा सम्बोधन गर्ने र विश्वव्यापी तथा क्षेत्रीय मुद्दाहरूमा समन्वय बढाउने विषयमा महत्त्वपूर्ण सहमति भएको जानकारी दिएका छन्।