काठमाडौं । छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशको प्रयागराज-अयोध्यासहित ३० जिल्लामा बुधबार हावाहुरी र आँधीका कारण ९४ जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै प्रयागराजमा १७ र भदोहीमा १६ जनाको मृत्यु पुष्टि भएको छ।
यहाँ ८० किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चलेको भारतका सञ्चार माध्यमहरूले खबर लेखेका छन् । बरेलीमा एक युवकलाई जस्तापातासँगै हावाले उडाएको बताइएको छ।
राज्यको बांदा सहरमा तापक्रम ४५.४ डिग्री सेल्सियस रह्यो। बिहीबार ५१ जिल्लामा तीव्र हावाहुरी र वर्षाको अलर्ट छ। राजस्थान पनि कडा गर्मी र हिटवेभ (लु) ले प्रभावित छ।
मौसम विभागका अनुसार बिहीबार बीकानेर, जोधपुर, जैसलमेर र बाडमेरमा कडा गर्मीको रेड अलर्ट छ। १३ जिल्लामा हिटवेभको चेतावनी छ।