काठमाडौं । जापान सरकारले 'बिजनेस म्यानेजर' भिसाका लागि आवश्यक न्यूनतम पुँजीमा भारी वृद्धि गरेको छ । यसको प्रत्यक्ष असर जापानमा सानो लगानीमा व्यवसाय गरिरहेका नेपाल सहित विदेशी नागरिकहरू परेका छन्।
अध्यागमन सेवा एजेन्सीले व्यवसाय सञ्चालनका लागि आवश्यक पुँजी ५० लाख येनबाट बढाएर एकैपटक ३ करोड येन (करिब १ लाख ९० हजार अमेरिकी डलर) पुर्याएपछि विदेशी उद्यमीहरूका लागि जापानमा टिकिरहनु एउटा ठूलो चुनौती बनेको जापान टाइम्सले समाचारमा उल्लेख गरेको छ ।
यसको मारमा परेकामध्ये एक हुन्- टोकियोको नेरिमा वार्डमा हङकङ शैलीको 'कोन्जी' रेस्टुरेन्ट चलाउँदै आएकी ४७ वर्षीया च्यान का यी। कोरोना महामारीको कठिन समयलाई जितेर भर्खरै नाफा कमाउन थालेको उनको रेस्टुरेन्ट 'सान माई सान नेरिमा' मे २० देखि सधैंका लागि बन्द हुँदैछ।
३ करोड येनको पुँजी पुर्याउन असम्भव भएपछि च्यानले आफ्नो सपनाको व्यवसाय त्याग्ने निर्णय गरेकी हुन्। टोकियो शोको रिसर्चले हालै गरेको एक सर्वेक्षण अनुसार, जापानमा रहेका विदेशी नागरिकद्वारा सञ्चालित करिब ४५ प्रतिशत कम्पनीहरू यो नयाँ नियमबाट प्रभावित हुने देखिएका छन्।
विशेषगरी साना रेस्टुरेन्ट, आयात-निर्यात र खुद्रा व्यापार गर्ने विदेशीहरू यसबाट बढी मर्कामा परेका छन्। सरकारले भिसा नवीकरणका लागि सन् २०२८ अक्टोबरसम्म तीन वर्षको सहुलियत अवधि दिएको भए तापनि, धेरै व्यवसायीहरूले भविष्यमा भिसा अस्वीकृत हुने निश्चित जस्तै देखेपछि अहिल्यै व्यवसाय समेट्न थालेका छन्।