काठमाडौँ । थाक्सिन सिनावात्रा जेलबाट पेरोलमा रिहा भएका छन् । ७६ वर्षीय सिनावात्रा लामो समय अस्पतालमा बसेर कारागार सजाय टार्ने प्रयास गरेको भन्दै अदालतको आदेशपछि केही समयअघि जेलमा राखिएका थिए ।
उनी हाल बैङ्ककस्थित क्लोङ प्रेम जेल बाट समर्थकहरूको ठूलो उपस्थितिबीच बाहिर निस्किएका हुन् । रिहाइका क्रममा उनी सेतो रंगको ढिलो कमिज र छोटो कपालमा देखिएका थिए । उनलाई स्वागत गर्न उनकी छोरी तथा राजनीतिक उत्तराधिकारी पेतोङतार्न सिनावात्रा लगायत परिवारका सदस्यहरू उपस्थित थिए । थाक्सिन सन् २००१ देखि २००६ सम्म थाइल्याण्डका प्रधानमन्त्री रहँदा शक्ति दुरुपयोग र स्वार्थको द्वन्द्वसम्बन्धी मुद्दामा दोषी ठहर भएका थिए र आठ वर्षको जेल सजाय सुनाइएको थियो । पछि राजाले उनको सजाय घटाएर एक वर्षमा झारेका थिए । अस्पतालमा लामो समय उपचारका क्रममा बसेपछि उनी पेरोलमा छुटेका हुन् । अब उनले सजाय अवधिभर इलेक्ट्रोनिक एङ्कल मोनिटर लगाएर बस्नुपर्नेछ । राजनीतिक विश्लेषकका अनुसार उनको रिहाइले थाइल्याण्डको वर्तमान सत्ता समीकरणमा केही राजनीतिक प्रभाव पार्न सक्ने देखिएको छ ।