काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समकक्षी सी चिनफिङको निमन्त्रणमा आगामी मे १३ देखि १५ तारिखसम्म चीनको भ्रमण गर्ने भएका छन्। बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयले सोमबार यसको घोषणा गरेको हो। करिब नौ वर्षपछि कुनै अमेरिकी राष्ट्रपतिले चीन भ्रमण गर्न लागेको यो पहिलो अवसर हो। अमेरिका र चीनबीच विभिन्न विषयमा तनाव बढिरहेका बेला हुन लागेको यो भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ।
यो भ्रमण अमेरिका–इरानबीचको नाजुक युद्धविराम तथा होर्मुज जलडमरूमध्यको अवरोधका बीच हुन लागेको हो । इरान युद्धका कारण ऊर्जा लागत बढिरहेको छ, यसले विश्व अर्थतन्त्रमा दबाब परेको छ। अमेरिकी प्रधान उप(प्रेस सचिव एना केलीले आइतबार ट्रम्प मे १३ को साँझ बेइजिङ पुग्ने जानकारी दिएकी छन्। उनले यो भ्रमणलाई ‘अत्यन्त प्रतीकात्मक महत्त्वको भ्रमण’ भनेकी छन् ।
हङकङस्थित साउथ चाइना मर्निङ पोस्टका अनुसार ट्रम्पले मे १४ मा राष्ट्रपति सी चिनफिङसँग स्वागत समारोह र द्विपक्षीय बैठकमा सहभागी हुनेछन्। त्यसपछि उनले ‘टेम्पल अफ हेभेन’ भ्रमण गर्ने तथा राजकीय भोजमा सहभागी हुने कार्यक्रम रहेको छ। मे १५ मा दुई नेताबीच पुनः द्विपक्षीय चिया भेटघाट र कार्यकारी भोजन हुने बताइएको छ। अमेरिकी पक्षले यसै वर्ष चिनियाँ राष्ट्रपति सीलाई प्रत्युत्तर भ्रमणका लागि अमेरिका निमन्त्रणा गर्ने योजना पनि बनाएको छ। यसैबीच, चीन र अमेरिकाले आइतबार चिनियाँ उप-प्रधानमन्त्री ख लिफेङ मे १२ र १३ मा दक्षिण कोरियामा अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टसँग व्यापार वार्ता गर्न जाने घोषणा गरेका छन्। ट्रम्पको चीन भ्रमणअघि हुने यो अन्तिम चरणको वार्ता हुनेछ।
ट्रम्पको भ्रमण अमेरिका र चीनबीच भन्सार शुल्कसम्बन्धी सम्भावित व्यापार सम्झौताका अपेक्षाबीच हुन लागेको हो।चिनियाँ वाणिज्य मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार वार्ता दक्षिण कोरियाको बुसानमा दुई नेताबीच भएको सहमति तथा पछिल्ला टेलिफोन संवादलाई आधार बनाएर अघि बढाइनेछ। यसका साथै दुवै देशका साझा आर्थिक तथा व्यापारिक चासोका विषयमा छलफल हुने बताइएको छ।