काठमाडौँ । इरानले विश्वको अत्यन्त संवेदनशील र रणनीतिक मानिने होर्मुज जलमार्गमा समुद्री आवागमन नियन्त्रण गर्न नयाँ नियम लागू गरेको छ। अब यस जलमार्गबाट आवतजावत गर्ने सबै जहाजहरूले अनिवार्य रूपमा पूर्वअनुमति (ट्रान्जिट परमिट) लिनुपर्ने व्यवस्था गरिएको छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार ‘पर्शियन गल्फ एन्ड स्ट्रेट्स अथोरिटी’ मार्फत जहाज सञ्चालन गर्ने कम्पनीहरूलाई नयाँ नियम र निर्देशनसहितको जानकारी विद्युतीय माध्यमबाट पठाइनेछ। ती नियम नमान्ने जहाजहरूलाई जलमार्ग प्रवेशमा रोक लगाइने स्पष्ट गरिएको छ। इरानले यो निर्णय आफ्नो सार्वभौम अधिकारअन्तर्गत लिइएको बताएको छ। संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले जलमार्ग सुरक्षामा अमेरिका र उसका सहयोगी राष्ट्रहरूको गतिविधिले असर पारेको आरोप लगाउँदै यस्तो नीति आवश्यक भएको दाबी गरेका छन्।
यसैबीच, इरानको रिभोलुसनरी गार्ड कोरको नौसैनिक शाखाले पनि उक्त क्षेत्रमा निगरानी कडा पारेको छ। उसले तोकिएको समुद्री मार्ग मात्र प्रयोग गर्न जहाजहरूलाई चेतावनी दिएको छ र मार्ग परिवर्तन गरे सैन्य कारबाही हुन सक्ने संकेतसमेत दिएको छ। अमेरिकी रक्षा मन्त्रालयका अधिकारीहरूले भने व्यापारिक जहाजहरूको सुरक्षाका लागि आफ्ना गतिविधि निरन्तर रहने बताएका छन्। पछिल्ला महिनामा बढ्दो तनावबीच होर्मुज जलमार्गमा गरिएको यस्तो कडाइले विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा अनिश्चितता अझ बढाएको विश्लेषण गरिएको छ।