काठमडौँ । अस्ट्रेलियाको दक्षिणपश्चिम सिड्नीमा भएको हिंसात्मक घटनामा तीन जनाको ज्यान गएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब १ः ३० बजे रोजमेडो क्षेत्रमा रहेको एक घरमा आक्रमण भएको थियो। घटनाको सूचना पाएपछि आपतकालीन सेवा तत्कालै घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थलमा करिब ६० वर्षकी महिला र करिब २० वर्षका एक पुरुषलाई मृत अवस्थामा फेला पारेको जनाएको छ। गम्भीर घाइते अवस्थामा भेटिएका ६४ वर्षीय पुरुषलाई अस्पताल लगिए पनि उपचारका क्रममा उनको पनि मृत्यु भएको हो। प्रारम्भिक अनुसन्धानअनुसार, आक्रमण पीडितलाई चिन्ने व्यक्तिबाटै भएको हुन सक्ने आशंका गरिएको छ। घटनासँग सम्बन्धित ३२ वर्षीय पुरुषलाई प्रहरीले नियन्त्रणमा लिई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ। प्रहरीले उक्त घरलाई अपराध स्थल घोषणा गरी घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।