लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. हेम राज शर्माले हालै नेपालमा शिक्षा मन्त्रीलाई भेटेर विदेश पढ्न जाने विद्यार्थीहरूलाई प्रस्थान पूर्वको सूचना, सम्बन्धित मुलुकमा पुगी सके पछि दूतावास लगायत सपोर्ट सिस्टम र नेपाल फर्की सके पछि रोजगार बजारमा जान कसरी सहयोग गर्ने भन्ने बारे छलफल भएको जनाएका छन् ।
गैरआवासीय नेपाली संघ यूकेले नेपाली दूतावास, लन्डनको सहकार्यमा बेलायतमा नेपाली विद्यार्थीहरूले भोगिरहेका चुनौती र अवसरबारे छलफल गर्ने उद्देश्यले शुक्रबार आयोजना गरेको "द प्लग" कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले एकडेमिक क्षेत्रबाट आएकोले विद्यार्थीहरूको समस्याबारे आफू जानकार रहेको बताए।
उनले स्वास्थ्य बीमा नभएको मुलुकमा विद्यार्थीहरूलाई बीमा गरेर जाने व्यवस्था गर्न सुझाव दिए।एनआरएनए केन्द्रीय कार्यालयमा विदेश जानु अघि विद्यार्थीहरूलाई काउन्सिलिंग सुरु गर्ने तयारी भैरहेको र शैक्षिक परामर्शदातृ संस्था नेपाल (इकान) सँग पनि सहकार्य गर्नेबारे छलफल भैरहेको जनाए ।
उनले १८३ दिन भन्दा बढी विदेशमा बसेका विद्यार्थीहरूलाई पनि एनआरएनएको सदस्यता दिनु पर्ने बताए। उनले एनआरएनएले दूतावास लगायत विभिन्न संघसंस्थाहरुको सहकार्यमा विद्यार्थीहरूलाई करियर फेयर, कानुनी सल्लाह लगायत सहयोग गर्न सकिने जनाए।
अध्यक्ष डा शर्माले पहिलो पटक संघका उपाध्यक्षको संयोजकत्वमा विद्यार्थी कल्याण समिति गठन गरिएको पनि जनाए।