काठमाडौँ । इरान ले क्षेत्रीय तनाव कम गर्ने उद्देश्यसहित पाकिस्तान मार्फत संयुक्त राज्य अमेरिका समक्ष नयाँ शान्ति प्रस्ताव पेश गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एक्सियोसका अनुसार, इरानले हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने र जारी तनाव अन्त्य गर्ने ढाँचा तयार गरेको हो ।
प्रस्तावमा दुई चरणको योजना समावेश गरिएको छ । पहिलो चरणमा समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्दै अमेरिकी नौसेनासँगको तनाव घटाउने उल्लेख छ भने दोस्रो चरणमा दीर्घकालीन युद्धविराम र स्थायी शान्ति प्रक्रिया अघि बढाउने प्रस्ताव गरिएको छ । तर अमेरिका पक्षले इरानलाई कम्तीमा १० वर्षसम्म युरेनियम संवर्धन रोक्न र आणविक भण्डार विदेश स्थानान्तरण गर्नुपर्ने अडान राख्दै आएको छ, जसमा सहमति जुट्न बाँकी छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले वार्ताका लागि प्रत्यक्ष फोन संवाद गर्न सकिने बताएका छन् भने इरानी विदेशमन्त्री अब्बास अराघची ले पाकिस्तान र ओमानसँग कूटनीतिक छलफल तीव्र पारेका छन् । विश्वको प्रमुख तेल ढुवानी मार्ग मानिने हर्मुज जलमार्गलाई इरानले रणनीतिक दबाबको माध्यमका रूपमा प्रयोग गरिरहेको छ । यसबीच, दुवै देशका फरक–फरक अडानका कारण औपचारिक शान्ति सम्झौता भने अझै हुन सकेको छैन ।