एजेन्सी । कोलम्बियाको पान–अमेरिकी राजमार्गमा शनिबार गुडिरहेको बसमा बम आक्रमण हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ। घटनामा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन्। सिन्हवाका अनुसार, काउका विभागको काजिबियो (ऋबवष्दíय) नगरपालिकास्थित काली र पोपायान जोड्ने पान–अमेरिकी राजमार्गको ‘एल टुनेल’ क्षेत्रमा उक्त आक्रमण भएको हो। आक्रमणकारीहरूले गुडिरहेको बसलाई लक्षित गरी बम प्रहार गरेका थिए।
प्रत्यक्षदर्शी चालकहरूका अनुसार आक्रमणकारीहरूले हतियार देखाई एक ट्रक र बसलाई नियन्त्रणमा लिएका थिए। सवारीसाधनहरूलाई बाटोमा तेस्र्याएर सडक अवरुद्ध बनाइएको थियो। आक्रमणबाट बसको छाना र झ्यालहरूमा गम्भीर क्षति पुगेको छ भने राजमार्गमा पनि ठूलो क्षति भएको छ। सवारीसाधनहरूमा कुनै विद्रोही समूहसँग सम्बन्धित नाराहरू लेखिएका थिए, जसले घटनामा विद्रोही समूहको संलग्नता रहेको संकेत गरेको छ।
घटनापछि काउकाका गभर्नर अक्टाभियो गुज्मानले नागरिकमाथि गरिएको यो अन्धाधुन्ध आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। उनले प्रभावित क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न र आक्रमणकारीहरूलाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय सरकारसँग माग गरेका छन्।
हाल घटनास्थलमा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ भने घाइतेहरूको उद्धार तथा उपचार कार्य जारी छ।