काठमाडौँ। गाजामा शुक्रबार भएको इजरायली आक्रमणमा ६ प्रहरीसहित १२ जना प्यालेस्टिनीको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन्। स्थानीय स्रोत र प्रत्यक्षदर्शीका अनुसार उत्तरी गाजाको बेइत लाहिया क्षेत्रमा रहेको कमल अदवान अस्पताल नजिकका आवासीय घरहरूमा इजरायली तोपखानाबाट आक्रमण गरिएको थियो।
चाइना ग्लोबल टेलिभिजन नेटवर्कका स्ट्रिङरले खिचेको दृश्यमा एक आमाले आफ्नो प्रहरी छोरा गुमाएको पीडामा रोइरहेको देखिन्छ। त्यस्तै, घटनास्थलमा अन्य मृतकहरूको शव राखिएको र आफन्तहरू शोकमा डुबेको दृश्य पनि देखिन्छ। १० अक्टोबर २०२५ यता हमास र इजरायलबीच बढ्दो तनाव तथा युद्धविराम उल्लङ्घनका घटनाबीच यो आक्रमण भएको हो। गाजास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार युद्धविराम लागू भएयता हालसम्म ७९१ प्यालेस्टिनीको ज्यान गएको छ भने २ हजार २३५ जना घाइते भएका छन्।