काठमाडौँ । रुस र युक्रेन युद्धका क्रममा दुवै पक्षले एक–अर्कामाथि व्यापक आक्रमण गरेको दाबी गरेका छन्। रुसी रक्षा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा रुसी सेनाले युक्रेनी सेनाका विभिन्न लक्ष्यहरू रहेका १३८ क्षेत्रहरूमा प्रहार गरेको छ।
साथै, ऊर्जा र यातायात पूर्वाधार तथा युक्रेनी सेना र विदेशी भाडाका सैनिकहरू रहेका स्थानहरूलाई लक्षित गरिएको बताइएको छ। रुसले आफ्नो वायु रक्षा प्रणालीमार्फत ४१८ ड्रोन र १० वटा सटीक निर्देशित बम खसालिएको दाबी पनि गरेको छ। यता, युक्रेनी सेनाले भने रूसको नोभगोरोड क्षेत्रस्थित गोर्की तेल पम्पिङ स्टेशनमा ड्रोन आक्रमण गरेको जनाएको छ। सो आक्रमणपछि आगलागी भएको युक्रेनी स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन्।युक्रेनको सेनाले पनि विभिन्न रूसी सैन्य लक्ष्यहरू र कमाण्ड पोस्टहरूमा आक्रमण गरिएको दाबी गर्दै ठूलो संख्यामा ड्रोन खसालेको जनाएको छ। युद्धका क्रममा दुबै पक्षले एक–अर्कालाई ठूलो क्षति पुर्याएको दाबी गरे पनि स्वतन्त्र रूपमा यी विवरणहरूको पुष्टि भने हुन सकेको छैन।