काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न आफू कुनै हतारमा नरहेको स्पष्ट पारेका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको वार्ता अझै लम्बिन सक्ने र आफू कुनै पनि ‘समय–सीमा’मा बाँधिन नचाहने बताएका छन् ।
ट्रम्पका अनुसार, इरानी नेतृत्वमा अहिले ‘अराजकता’को स्थिति छ । उनले युद्धको सुरुआती चार हप्तामै अमेरिकाले सैन्य रूपमा ठूलो बढत हासिल गरिसकेको र अब केवल एउटा ठोस सम्झौता हुन्छ वा हुँदैन भन्ने हेर्न बाँकी भएको बताए ।
“यदि सम्झौता भएन भने सैन्य कारबाही पुनः सुरु गरिनेछ,” ट्रम्पले चेतावनी दिँदै भने ।
युद्धमा परमाणु हतियारको सम्भावित प्रयोगबारे सोधिएको प्रश्नमा ट्रम्पले इरानविरुद्ध परमाणु हतियार प्रयोग गर्ने सोचमा नभएको स्पष्ट पारे ।
उनले भने, “यस्ता हतियारहरूको प्रयोग कुनै पनि स्थितिमा हुनु हुँदैन ।” यो भनाइले युद्ध अझ भयावह हुन सक्ने अन्तर्राष्ट्रिय चिन्तालाई केही हदसम्म शान्त पारेको छ ।