काठमाडौँ । अमेरिकाले लगाइरहेको नौसैनिक नाकाबन्दी जारी रहेसम्म विश्वकै अत्यन्त संवेदनशील तेल मार्ग ‘स्ट्रेट अफ होर्मुज’ नखोल्ने इरानले स्पष्ट अडान लिएको छ। युद्धविरामको समयमा पनि व्यवहारमा उल्लंघन भइरहेको आरोप लगाउँदै तेहरानले उक्त रणनीतिक जलमार्गमा नियन्त्रण कडा बनाएको छ।
इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर घालीबाफले नौसैनिक नाकाबन्दी कायम रहेसम्म युद्धविरामको कुनै अर्थ नरहने भन्दै होर्मुज जलघाँटी खोल्ने अवस्था नरहेको बताएका छन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको मध्यस्थतामा शान्ति वार्तालाई अवसर दिन युद्धविरामलाई निरन्तरता दिने घोषणा गरेका थिए।
इरानले वार्ताको औपचारिक पुष्टि नगरेका कारण अमेरिकी उपराष्ट्रपति जेडी भान्सको इस्लामाबाद भ्रमणसमेत स्थगित भएको छ। यद्यपि, राष्ट्रपति ट्रम्पले केही दिनभित्रै वार्ता पुनः सुरु हुन सक्ने विश्वास व्यक्त गरेका छन्।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले होर्मुज हुँदै जाने दुईवटा विदेशी जहाजहरू नियन्त्रणमा लिएको छ। पनामाको झण्डा बोकेको ‘एमएससी फ्रान्सेस्का’ र लाइबेरियाको ‘एपामिनोन्डास’ नामक जहाज नियन्त्रणमा लिइएको हो। पनामाले यसलाई समुद्री सुरक्षामाथिको गम्भीर प्रहार भनेको छ। इरानले अब उक्त मार्ग प्रयोग गर्ने जहाजहरूले अनिवार्य रूपमा अनुमति लिनुपर्ने नयाँ व्यवस्था लागू गरेको छ।
यसैबीच, अमेरिकी रक्षामन्त्रालय (पेन्टागन) मा उच्च तहको फेरबदल देखिएको छ। अमेरिकी नौसेनाका सचिव जोन फेलानले तत्काल पदबाट राजीनामा दिने घोषणा गरेका छन्। रक्षामन्त्री पीट हेग्सेथको नेतृत्वमा भइरहेको यो फेरबदललाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
इरानसँगको तनावबीच मध्य–पूर्वमा युद्धको प्रभाव लेबनान र इजरायल सीमामा पनि देखिएको छ। युद्धविरामका बाबजुद इजरायली आक्रमणमा थप पाँच जनाको मृत्यु भएको छ। उक्त आक्रमणमा पत्रकार अमल खलिलको मृत्यु भएको छ भने जीनाब फराज घाइते भएकी छन्। साथै, संयुक्त राष्ट्रसङ्घका शान्तिरक्षकमाथि भएको आक्रमणमा थप एक फ्रान्सेली सैनिकको मृत्यु भएको छ।
वासिङ्टनमा हुन लागेको दोस्रो चरणको वार्तामा युद्धविरामलाई एक महिना थप गर्न आग्रह गरिने तयारी भइरहेको छ। तर, इरान र इजरायल दुवैतर्फको बढ्दो सैन्य गतिविधिका कारण क्षेत्रीय तनाव उत्कर्षमा पुगेको छ।