काठमाडौँ । होर्मुज क्षेत्र आसपास अमेरिका र ईरानबीचको तनाव फेरि चुलिएको छ। शान्ति वार्ता असफल भएपछि अमेरिकाले उक्त क्षेत्रमा नौसैनिक नाकाबन्दी कडा पारेको बताइएको छ।
अमेरिकी सेनाले अरब सागरमा तैनाथ आफ्ना सेनामार्फत ईरानी झण्डा बोकेको ‘टौस्का’ नामक मालवाहक जहाजलाई नियन्त्रणमा लिएको जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार, उक्त जहाजले नाकाबन्दी नियम उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिइएको हो।
यस घटनापछि ईरानले प्रतिक्रिया स्वरूप अमेरिकी सैन्य जहाजहरूलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यस्तै, ईरानको सरकारी समाचार संस्था तस्निमका अनुसार ओमान सागरमा ईरानी व्यापारिक जहाजमाथि अमेरिकी सेनाले हस्तक्षेप गरेको दाबी गरिएको छ। रिपोर्टमा अमेरिकी सेनाले जहाजको नेभिगेसन प्रणाली निष्क्रिय बनाउँदै सैनिकहरू समेत उतारेको उल्लेख छ। ईरानले यस घटनालाई गम्भीर रूपमा लिँदै अमेरिकाविरुद्ध कडा प्रतिकारात्मक कदम चाल्ने चेतावनी दिएको छ।