काठमाडौँ । चीनको राजधानी बेइजिङमा आयोजित ह्युमनोइड रोबोट हाफ म्याराथनमा स्मार्ट उपकरण निर्माता कम्पनी अनरद्वारा विकसित रोबोट ‘लाइटनिङ’ले उपाधि जितेको छ।
बेइजिङस्थित ई–टाउनमा आइतबार बिहान सम्पन्न २१.०९७५ किलोमिटर दूरीको दौड ‘लाइटनिङ’ले ५० मिनेट २६ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक हासिल गरेको हो। प्रतियोगितामा स्वायत्त नेभिगेसन र रिमोट कन्ट्रोल गरी दुई विधा समावेश गरिएको थियो। अनरका रोबोटहरूले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष तीन स्थान कब्जा गरेका थिए। चितियान दासेङ टोली पहिलो, लेइतिङ सान्दियान दोस्रो र सिङहुओ लियाओयुआन तेस्रो स्थानमा रहे।
रिमोट कन्ट्रोल विधामा पनि अनरकै रोबोटले ४८ मिनेट १९ सेकेन्डमा दौड पूरा गरे पनि नियमअनुसारको भारित समयका कारण शीर्ष तीनमा पर्न सकेन। गत वर्षको तुलनामा यस वर्ष प्रतिस्पर्धामा उल्लेखनीय वृद्धि भएको छ। २० टोलीको सट्टा यस वर्ष १०० भन्दा बढी टोली सहभागी भएका थिए। यसले रोबोटिक प्रविधि, सन्तुलन र कृत्रिम बुद्धिमत्तामा भएको तीव्र प्रगति देखाएको छ। प्रतिस्पर्धाले भविष्यमा मानवरूपी रोबोटको उपयोग खेलकुददेखि विभिन्न शारीरिक कामका क्षेत्रमा अझ विस्तार हुने संकेत गरेको बताइएको छ।