काठमाडौँ । अमेरिका र इरानबीच पाकिस्तानमा भएको शान्ति वार्ता निष्कर्षविहीन भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि औपचारिक रूपमा नाकाबन्दी सुरु भएको घोषणा गरेका छन्। पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको मध्यस्थतामा शनिबारदेखि आइतबार बिहानसम्म चलेको गहन वार्तामा सहमति जुट्न नसकेपछि सोमबारदेखि नै लागू हुने गरी अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा घेराबन्दी सुरु गरेको हो।
वार्ता टोलीको नेतृत्व गरेका अमेरिकी उपराष्ट्रपति जेडी भान्सका अनुसार इरानले परमाणु हतियार विकास नगर्ने ठोस प्रतिबद्धतासहितका अमेरिकी सर्तहरू अस्वीकार गरेपछि वार्ता असफल भएको हो। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानलाई परमाणु हतियार राख्न कदापि अनुमति नदिने र विश्वलाई ’ब्ल्याकमेल’ गर्ने छुट कसैलाई नभएको स्पष्ट पारेका छन्।
पछिल्लो सैन्य विकासक्रम अनुसार, अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानमाथि संयुक्त आक्रमण गरेपछि दुई साताका लागि युद्धविराम भएको थियो। तर, वार्ता असफल भएपछि इरानले सामरिक महत्त्वको ’स्ट्रेट अफ हर्मुज’ जलमार्गमा आफ्नो नियन्त्रण कायम गर्दै अरूलाई अनुमति लिनुपर्ने नियम लगाएको थियो, जसको जवाफमा अमेरिकाले अहिले सोही मार्ग हुँदै इरानी बन्दरगाह जाने र फर्कने सबै जहाजमाथि नाकाबन्दी लगाएको छ।
रोयटर्सका अनुसार अमेरिकाले इरानसँग अझै पनि संवादको ढोका खुल्ला रहेको बताए पनि इरानले भने अमेरिकी कदमलाई गैरकानूनी भन्दै यसको कडा प्रतिकार गर्ने चेतावनी दिएको छ। इरानले यदि नाकाबन्दी नहटाए खाडी राष्ट्रका अन्य बन्दरगाहहरूमा समेत आक्रमण गर्ने धम्की दिएपछि मध्यपूर्वमा ठुलो सैन्य मुठभेडको खतरा बढेको छ।