काठमाडौं । साउदी अरबको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै पाकिस्तानले करिब १३ हजार अतिरिक्त सैनिक र लडाकू विमानको टोली साउदी पठाएको छ। साउदी अरबको रक्षा मन्त्रालयका अनुसार पाकिस्तानी वायुसेनाका लडाकू तथा सहयोगी विमानहरू पूर्वी क्षेत्रमा अवस्थित अब्दुलअजीज एयर बेसमा तैनाथ गरिएका छन्।
गत वर्ष दुई देशबीच भएको संयुक्त रणनीतिक रक्षा सम्झौता बमोजिम यो सैन्य परिचालन गरिएको हो। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार १३ हजार सैनिकका साथै १० देखि १८ वटा लडाकू विमान साउदी पुगेका छन्। यसअघि नै साउदीमा करिब १० हजार पाकिस्तानी सैनिक उपस्थित थिए।
अमेरिका र इजरायलको आक्रमणपछि इरानले साउदी अरब लगायतका खाडी राष्ट्रहरूमा लगातार प्रहार गरेसँगै साउदीले आफ्नो सुरक्षा व्यवस्था कडा पारेको हो। सेप्टेम्बरमा भएको रक्षा सम्झौता अनुसार एक राष्ट्रमाथि भएको आक्रमणलाई दुवै राष्ट्रमाथिको आक्रमण मानिने प्रावधान छ। जसका कारण पाकिस्तान अहिले रक्षात्मक रूपमा साउदीको पक्षमा उभिएको हो।
क्षेत्रीय तनाव कम गर्न पाकिस्तानले अमेरिका र इरानबीच मध्यस्थताको प्रयास गरे पनि हालसम्म कुनै ठोस निष्कर्ष निस्कन सकेको छैन। शनिबार र आइतबार पाकिस्तानमा भएको उच्चस्तरीय वार्ता निष्कर्षविहीन टुङ्गिएको छ।
अमेरिकी वार्ता टोलीको नेतृत्व गरेका उपराष्ट्रपति जेडी भान्सले इरानले अमेरिकी प्रस्तावहरू अस्वीकार गरेको जानकारी दिए। उनले भने, “तेहरानले परमाणु हतियार विकास गर्दैन भन्ने ठोस प्रतिबद्धता हामीलाई चाहिन्छ, तर उनीहरू हाम्रा सर्त मान्न तयार देखिएनन्।“ यता इरानले भने अमेरिकाका मागहरू अव्यावहारिक र ज्यादै कडा रहेको दाबी गरेको छ।