काठमाडौं । रुसका एक पूर्व मन्त्रीलाई १९ बर्ष जेल सजाय सुनाएको छ । रूसका पूर्व उपरक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचारको आरोपमा १९ वर्षको जेल सजाय सुनाइएको छ ।
सन् २०२४ मा पक्राउ परेका उनिमाथिको मुद्दा मस्कोस्थित एक विशाल सैन्य–थिम पार्कसँग सम्बन्धित वित्तीय अनियमिततामा केन्द्रित रहेको बताइएको छ । उक्त पार्कलाई कतिपयले रूसको ‘सैन्य डिज्नील्यान्ड” भनेर पनि चिन्ने गरेका छन् ।
उक्त परियोजना प्याट्रियट पार्क पूर्व रक्षामन्त्री सर्गेई शोइगुको पहलमा निर्माण गरिएको हो । यसको उद्देश्य युवापुस्तामा राष्ट्रिय गौरव जगाउने र सोभियत तथा रुसी सैन्य शक्ति प्रदर्शन गर्ने रहेको थियो ।
पार्कभित्र फायरिङ रेन्ज, एयर बेस, सङ्ग्रहालय र सम्मेलन केन्द्र समेटिएको छ । अनुसन्धानकर्ताहरूले उनले मस्को क्षेत्रमा आफ्नो निजी सम्पत्तिको पुनर्निर्माणका लागि पार्कको बजेटबाट दुई करोड ५० लाख रुबल (करिब तीन लाख २४ हजार अमेरिकी डलर) भन्दा बढी रकम दुरुपयोग गरेको निष्कर्ष निकालेका छन् ।
पोपोभ सन् २०१३ देखि जुन २०२४ सम्म उप–रक्षामन्त्रीका रूपमा कार्यरत थिए।