काठमाडौँ । अमेरिका र इरानबीच जारी तनावका कारण खाडी मुलुकमा कार्यरत नेपाली प्रभावित भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म २८ जना नेपाली घाइते भएका छन्, जसमा २७ जनाको अवस्था सामान्य रहेको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले द्वन्द्वका कारण सिर्जित अवस्थाबारे जानकारी दिँदै केही नेपाली पक्राउ परेको पनि पुष्टि गरे। उनका अनुसार द्वन्द्वसम्बन्धी फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरी डर र त्रास फैलाउने सामग्री फैलाएको आरोपमा ११ जना नेपालीलाई सम्बन्धित देशका सुरक्षा निकायले पक्राउ गरेका हुन्। मन्त्रालयले मध्यपूर्वमा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको जनाएको छ। साथै, युद्धसँग सम्बन्धित संवेदनशील सामग्री सामाजिक सञ्जालमा नपोस्न नेपाली नागरिकलाई आग्रह गरिएको छ।