काठमाडौँ । अमेरिकी पूर्व प्रथम महिला मेलानिया ट्रम्पले जेफ्री एपस्टिनसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पार्दै आफूविरुद्ध फैलाइएका आरोपहरू तत्काल रोक्नुपर्ने बताएकी छन्।
ह्वाइट हाउसमा आकस्मिक रूपमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एपस्टिनसँग आफूले सन् २ हजार साल तिर छोटो समय मात्र भेट भएको उल्लेख गर्दै आफू कुनै पनि प्रकारले उनको आपराधिक गतिविधिमा संलग्न नरहेको दाबी गरिन्। उनले आफ्नो नाम जोडेर फैलाइएका अनलाइन दाबीहरूलाई “दुर्भावनापूर्ण र चरित्रहत्या गर्ने प्रयास” भन्दै अस्वीकार गरिन्। साथै, आफूले गिस्लेन म्याक्सवेललाई नचिनेको पनि स्पष्ट पारिन्। मेलानियाले एपस्टिन पीडितहरूका लागि अमेरिकी संसदमा सार्वजनिक सुनुवाइ (कङ्ग्रेसनल हियरिङ) गरिनुपर्ने मागसमेत राखिन्। उनले पीडितहरूले शपथअन्तर्गत सार्वजनिक रूपमा आफ्नो बयान दिन पाउनुपर्ने र त्यसले मात्र सत्य उजागर हुने बताइन्।
उनले सन् २००२ मा गिस्लेन म्याक्सवेललाई पठाइएको भनिएको एक इमेललाई “सामान्य र औपचारिक पत्राचार मात्र” भएको बताइन्। उक्त इमेलमा एपस्टिनलाई “जेई” भनेर उल्लेख गरिएको र सामाजिक भेटघाटसम्बन्धी सन्दर्भ रहेको बताइएको छ। यसैबीच, एपस्टिनसँग सम्बन्धित पुराना विवाद र दस्तावेजहरू पुनः सार्वजनिक भएपछि अमेरिकी राजनीतिक वृत्तमा बहस चर्किएको छ। केही सांसदहरूले मेलानियाको मागलाई समर्थन गर्दै तत्काल सार्वजनिक सुनुवाइ गर्नुपर्ने बताएका छन्। एपस्टिन पीडितहरूले भने थप बयान दिन बाध्य पार्नुको सट्टा जिम्मेवार निकायले अनुसन्धानसम्बन्धी फाइल सार्वजनिक गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। मेलानिया ट्रम्पले पत्रकारहरूको प्रश्नको भने जवाफ दिइनन्।