काठमाडौँ । सुडानका दुई अलग स्थानमा भएको ड्रोन आक्रमणमा कम्तिमा २८ जना सर्वसाधारणको मृत्यु भएको स्थानीय स्वास्थ्यकर्मीलाई उदृत गर्दै बिहीबार एएफपीले जनाएको छ । सुडानी सेना र विद्रोही (आरएसएफ) बीचको लामो युद्धको कारण ड्रोन आक्रमणमा वृद्धि भएको छ ।
बुधबार उत्तरी डार्फर राज्यको सराफ ओमरा सहरको बजारमा भएको आक्रमणमा एक शिशु सहित २२ जनाको मृत्यु भएको एएफपीले जनाएको हो । थप १७ जना घाइते भएको स्थानीय क्लिनिकका एक स्वास्थ्य कार्यकर्तालाई उदृत गर्दै एएफपीले बताएको छ ।
ड्रोनले तेल ट्याङकमा प्रहार गर्दा ट्याङकरसहित बजारको केही भागमा आगो लागेको सराफ ओमरा र दुर्गम डार्फर क्षेत्रका बजारका बिक्रेता हमिद सुलेमानले बताएका छन् । त्यसैगरी उत्तरी कोर्डोफोनमा भएको ड्रोन आक्रमणमा ६ जनाले ज्यान गुमाएका छन् ।
एल–राहादको स्थानीय अस्पतालको चिकित्सा स्रोतले आक्रमणको दोष आरएसएफलाई लगाएको छ । सुडानमा लामो समय चलेको युद्धले दशौं हजारको ज्यान लिनुका साथै झन्डै एक करोड १० लाख विस्थापित भइसकेका छन् ।