काठमाडौँ। प्राचीन तथा सांस्कृतिक महत्व बोकेको सेतो मच्छिन्द्रनाथ जात्रा आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष चैत शुक्ल अष्टमीदेखि प्रारम्भ हुने यो रथयात्रा केही दिनसम्म चल्दै लगन क्षेत्रमा पुगेर समापन हुने परम्परा रहेको छ ।
दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथ निर्माण कार्य चैत्र शुक्ल प्रतिपदादेखि नै सुरु गरिन्छ । करिब ३२ हात अग्लो र नौ तले बनाइने उक्त रथ काठ, बेत र डोरी प्रयोग गरी तयार पारिन्छ, जसले परम्परागत सीप र प्रविधिको झल्को दिन्छ । चैते दशैंको दिन सेतो मच्छिन्द्रनाथको मूर्ति विधिपूर्वक रथमा स्थापना गरेपछि जात्राको औपचारिक सुरुवात हुन्छ ।
केल टोलको मच्छिन्द्र बहालस्थित मन्दिरबाट लोकेश्वरको मूर्ति निकालेर केल टोल, इन्द्रचोक, बाङ्गेमुढा, असन, कमलाक्षी हुँदै जमलको तीनधारा पाठशालामा ल्याइन्छ र त्यसपछि रथयात्रा अघि बढाइन्छ । शताब्दीयौँदेखि मनाइँदै आएको यो जात्रा धार्मिक श्रद्धा मात्र होइन, सामुदायिक एकता, मौलिक कला–कौशल र परम्परागत ज्ञानको उत्कृष्ट नमूनाका रूपमा पनि परिचित छ ।