काठमाडौँ । इजरायलले लेबनानको दक्षिणी भेगमा हवाई आक्रमण तीव्र पार्दै मुख्य पुल, सहर तथा आवासीय क्षेत्रलाई लक्षित गरेको छ। इरानसँग जोडिएको व्यापक द्वन्द्वबीच यो तनाव तेस्रो सातामा प्रवेश गरेको छ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार दक्षिणी क्षेत्रहरूमा भएका आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु र सात जना घाइते भएका छन्। टायर जिल्लाको चेहाबिये गाउँमा भएको हवाई आक्रमणमा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। त्यस्तै, सोही जिल्लाको अल–हनिया क्षेत्रमा भएको गोलाबारीमा एक जनाको मृत्यु र अर्का एक जना घाइते भएका छन्। नबातिये जिल्लाको मजदल अल–सेल्म क्षेत्रमा भएको आक्रमणमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। टेबनीन क्षेत्रमा घर तथा पसलहरूमा व्यापक क्षति पुगेको जनाइएको छ, जहाँ उद्धार टोलीहरू भग्नावशेष हटाउने र सडक सञ्चालनमा ल्याउने काममा जुटेका छन्। यसबीच हिजबुल्लाहले मरुवाहिन, मारुन अल–रस र यारुनलगायत सीमावर्ती क्षेत्रमा आफ्ना लडाकुहरूले इजरायली सेना र सवारी साधनलाई निशाना बनाएको दाबी गरेको छ।
लेबनानी राष्ट्रपति जोसेफ आउन र संसदका सभामुख नबिह बेरीबीच बाब्दा दरबारमा भेटवार्ता भई वर्तमान सुरक्षा अवस्था तथा दक्षिणी क्षेत्रका पुलमाथि भइरहेको आक्रमणबारे छलफल भएको जनाइएको छ। उक्त आक्रमणका कारण करिब १० लाख मानिस विस्थापित हुँदा गम्भीर मानवीय संकट उत्पन्न भएको बताइएको छ। दुवै नेताले राष्ट्रिय एकता र सामाजिक स्थिरता कायम राख्नुपर्नेमा जोड दिएका छन्। यसै क्रममा ड्रुज समुदायका नेता वालिद जुमब्लाटले पनि राष्ट्रपति आउनसँग भेट गरी वार्ता, आन्तरिक सुरक्षा र विस्थापित नागरिकको व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन्। उनले अस्थायी पालको सट्टा दीर्घकालीन ‘प्रिफ्याब’ आवासको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्। गत मार्च २ मा हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेपछि तनाव चुलिएको हो। त्यसयता इजरायलले बेरुतसहित दक्षिण तथा पूर्वी लेबनानका विभिन्न क्षेत्रमा निरन्तर हवाई आक्रमण गर्दै आएको छ।