काठमाडौँ । चैते दशैंको अवसरसँगै ऐतिहासिक सेतो मच्छिन्द्रनाथ जात्राका लागि तयारी तीव्र पारिएको छ। तीनधारा पाठशाला क्षेत्रमा रथ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। रथ निर्माणमा संलग्न कारीगर पूर्णमान महर्जनका अनुसार यो जात्रा परम्परागत रूपमा अष्टमीदेखि सुरु भई नवमी र दशमीसम्म तीन दिन विशेष रूपमा मनाइन्छ।
चैते दशैं अन्तर्गत रामनवमीको अघिल्लो दिनबाट जात्रा प्रारम्भ हुने चलन रहेको उनले बताए। करिब चार दशकभन्दा बढी समयदेखि रथ निर्माणमा संलग्न रहेका महर्जनले यो कार्य पुर्खौंदेखि चलिआएको परम्परा जोगाउने उद्देश्यले निरन्तर गर्दै आएको बताए। उनका अनुसार सेतो मच्छिन्द्रनाथलाई सबै जीवप्रति करुणा राख्ने देवताको रूपमा ‘करुणामय’ पनि भनिन्छ। रथ निर्माण प्रक्रिया जटिल हुने उल्लेख गर्दै उनले करिब आठ दिनअगाडि नै खचा, पाङ्ग्रा तथा संरचनाका विभिन्न भाग तयार पार्ने काम सुरु गरिने जानकारी दिए। रथलाई मजबुत बनाउन प्रयोग गरिने विशेष डोरी ‘बेथ’ भने भारतको आसामबाट ल्याइने गरिएको छ। परम्पराअनुसार सप्तमीमा बेथ बाँध्ने काम सम्पन्न गरी अष्टमीका दिन जनबहालबाट देवता निकालेर तीनधारा ल्याइन्छ। त्यसपछि विधिपूर्वक पूजा तथा सजावटपछि रथयात्रा सुरु हुन्छ। विगतमा पशुबलि दिने चलन रहे पनि अहिले त्यसको सट्टा नगद अर्पण गर्ने परम्परा रहेको छ।
जात्राका क्रममा रथ असन, हनुमानढोका हुँदै लगनसम्म पुर्याइन्छ। लगन क्षेत्रमा सेतो मच्छिन्द्रनाथकी आमाको प्रतीक स्थानमा तीनपटक परिक्रमा गरेपछि जात्रा सम्पन्न हुने परम्परा छ। त्यसको भोलिपल्ट देवतालाई पुनः बहाल फर्काइन्छ। शताब्दीयौँ पुरानो यो जात्रा धार्मिक आस्था मात्र नभई परम्परागत सीप, प्रविधि र सामुदायिक सहकार्यको उदाहरणका रूपमा पनि परिचित छ। काठ र डोरी प्रयोग गरी निर्माण गरिने रथले परम्परागत शिल्पकलालाई जोगाउँदै आएको छ। स्थानीयको श्रमदान, गुठी संस्थानको सहयोग र समुदायको सक्रिय सहभागिताले यो जात्रा सामाजिक एकताको प्रतीक बनेको छ। साथै, सांस्कृतिक सम्पदा र पर्यटनको दृष्टिले समेत महत्वपूर्ण मानिने यस उत्सवले काठमाडौंको मौलिक पहिचानलाई जीवन्त राख्दै नयाँ पुस्तासम्म परम्परा हस्तान्तरण गरिरहेको छ।