काठमाडौँ । पर्सा सहित देशका विभिन्न क्षेत्रमा आज छठ पूजाको तेस्रो दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका छन्। हर्ष उल्लासका साथ छठी घाट पुगेका व्रतालुहरूले श्रद्धापूर्वक सूर्यदेवलाई अर्घ दिँदै पूजाआराधना गरेका हुन्।
सत्य र अहिंसाप्रति मानवको मनोभाव बढाउने र सबै जीवप्रति सहानुभूति विकास गर्ने परम्परा बोकेको चैती छठ पर्वका अवसरमा व्रतालुहरू तलाउ, पोखरी, खोला र अन्य जलाशयका किनारमा बनाइएका सिँगारिएका छठी घाटमा पुगेका थिए। वीरगन्जमा घडिअर्वा पोखरी, नगवा पोखरी, मुर्ली पोखरी, रानीघाट, छपकैया र बजार छपकैया लगायतका प्रमुख घाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी पूजा सम्पन्न गरे। छठ पर्व पारिवारिक सुख–शान्ति र सन्तान प्राप्तिका लागि विशेष महत्व राख्छ। घडिअर्वा पोखरी छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साहका अनुसार, विगत केही वर्षमा चैती छठ मनाउनेहरूको संख्या बढ्दै गएको छ। व्रतालुहरूको विश्वास अनुसार विधिपूर्वक पूजा गर्दा परिवारका सदस्यको स्वास्थ्य लाभ हुन्छ र श्रीमानको आयु लामो हुन्छ। पर्वको अन्तिम दिन अर्थात् भोलि, उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि छठ पूजाको समापन हुनेछ।