काठमाडौँ । कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ । एक सय २८ जना सवार रहेको विमान उडेको केही समयमै दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने दर्जनौँ घाइते भएका छन् ।
कोलम्बियाका सशस्त्र बल प्रमुख ह्युगो अलेजान्द्रो लोपेज ब्यारेटोले दुर्घटनामा ६६ जना सैनिकको ज्यान गएको जानकारी दिए । उनका अनुसार अझै चार जना सैनिक बेपत्ता रहेका छन् । “यो अत्यन्त दुःखद घटना हो, जसले हाम्रो सेनामा ठूलो क्षति पुर्याएको छ”, उनले भने ।
उनले प्रारम्भिक अनुसन्धानका आधारमा यो घटना कुनै सशस्त्र समूहको आक्रमणका कारण भएको नदेखिएको स्पष्ट पारे ।दुर्घटनास्थल पोर्टो लेगुइजामो, पुतुमायो प्रान्तमा पर्छ । यो इक्वेडर र पेरुको सीमासँग जोडिएको दुर्गम अमेजन क्षेत्र हो । स्थानीय उपमेयर कार्लोस क्लारोसले मृतकहरूको शव सानो सहरको शवगृहमा राखिएको र सीमित स्वास्थ्य पूर्वाधारका कारण घाइतेहरूलाई प्राथमिक उपचारपछि ठूला सहरतर्फ पठाइएको बताए ।
उनले स्थानीय बासिन्दाहरूले उद्धारमा सक्रिय सहयोग गरेको भन्दै आभार व्यक्त गरे । कोलम्बियाका रक्षामन्त्री पेद्रो सान्चेजले दुर्घटनाग्रस्त विमानले पुतुमायोको अर्को क्षेत्रमा सेना लैजाँदै गरेको जानकारी दिए। विमानमा ११५ जना सैनिक, ११ जना चालक दलका सदस्य र दुई जना राष्ट्रिय प्रहरी सवार थिए । दुर्घटनापछि ५७ जनालाई जीवितै उद्धार गरिएको बताइएको छ ।