काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एसियाको युद्धका कारण होर्मुजको जलडमरु (स्ट्रेट अफ होर्मुज) मा भइरहेको अवरोध भारतका लागि स्वीकार्य नहुने बताएका छन् ।
संसदलाई सम्बोधन गर्दै उनले यो मार्गबाट भारतमा ठूलो मात्रामा कच्चा तेल, ग्यास र मल भित्रिने भएकाले यसको सुरक्षा महत्वपूर्ण रहेको उल्लेख गरे ।
युद्ध सुरु भएदेखि यो जलक्षेत्रबाट जहाजहरूको आवतजावत निकै कठिन भएको भए पनि भारत सरकारले पेट्रोल, डिजेल र ग्यासको आपूर्तिमा असर पर्न नदिन हरसम्भव प्रयास गरिरहेको उनले जानकारी दिए । प्रधानमन्त्री मोदीले पश्चिम एसियाको वर्तमान अवस्था चिन्ताजनक रहेको बताउँदै त्यहाँ करिब १ करोड भारतीयहरू कार्यरत रहेको स्मरण गराए ।
उनका अनुसार युद्ध सुरु भएयता ३ लाख ७५ हजारभन्दा बढी भारतीय नागरिक स्वदेश फर्किसकेका छन् । जसमध्ये इरानबाट करिब १ हजार भारतीयहरू फर्किएका छन् । प्रधानमन्त्रीले विभिन्न देशका राष्ट्रप्रमुखहरूसँग निरन्तर संवाद गरिरहेको र संकटमा फसेका भारतीयहरूको उद्धारका लागि कूटनीतिक नियोगहरू सक्रिय रहेको बताए ।
भारतले आफ्नो एलपीजी ग्यासको ६० प्रतिशत आवश्यकता आयातबाटै पूरा गर्ने भएकाले सरकारले घरेलु उपभोक्तालाई प्राथमिकतामा राखेर उत्पादन बढाउन जोड दिएको छ । प्रधानमन्त्री मोदीले वार्ता र कूटनीतिबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिँदै व्यावसायिक जहाजहरूमाथिको आक्रमण तत्काल रोकिनुपर्ने माग गरे ।