एजेन्सी । न्युयोर्कस्थित ला गार्डिया विमानस्थलमा आइतबार राति एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किएको छ। पोर्ट अथोरिटी अफ न्युयोर्क एण्ड न्युजर्सीका अनुसार यो दुर्घटना राति करिब ११ः४० बजे भएको हो।
एयर क्यानडाको तर्फबाट उडान भर्दै गरेको ज्याज एभिएसनको विमानले पोर्ट अथोरिटीको ’एयरक्राफ्ट रेस्क्यु एण्ड फायरफाइटिंग’ सवारी साधनलाई ठक्कर दिएको थियो। उक्त दमकल अर्कै एउटा घटनाको प्रतिक्रियाका लागि जाँदै गर्दा धावनमार्गमा विमानसँग ठोक्किएको प्रवक्ताले बताएका छन्।
प्रवक्ताका अनुसार, “दुर्घटना लगत्तै आपतकालीन प्रतिक्रिया प्रोटोकलहरू सक्रिय गरिएका थिए। हाल अनुसन्धान र उद्धार कार्यका लागि विमानस्थल बन्द गरिएको छ।”
पोर्ट अथोरिटीले चोटपटकबारे हालसम्म कुनै जानकारी दिएको छैन। यद्यपि, घटनास्थलका तस्बिर र भिडियोहरूमा विमानको अगाडिको भाग (नाक) मा गम्भीर क्षति पुगेको देखिएको छ। उक्त विमान ऋच्व्–९०० मोडलको हो, जसमा करिब ७६ जना यात्रु बस्ने क्षमता हुन्छ। यो उडान मोन्ट्रियल ट्रुडो अन्तर्राष्ट्रिय विमानस्थलबाट राति १०ः३० बजे उडेको थियो।
संघीय उड्डयन प्रशासनले विमानस्थलमा ’ग्राउन्ड स्टप’ जारी गरेको छ र सोमबार दिउँसो २ बजेसम्म विमानस्थल बन्द रहने अपेक्षा गरिएको छ।
’फ्लाइट राडार २४’ को तथ्याङ्क अनुसार, विमान धावनमार्गमा अवतरण गर्दा करिब १३० माइल प्रति घण्टाको गतिमा थियो। एयर ट्राफिक कन्ट्रोल (ब्त्ऋ) को अडियो रेकर्डिङमा कन्ट्रोलरले सुरुमा एउटा अपरेशन ट्रकलाई धावनमार्ग पार गर्ने अनुमति दिएको सुनिन्छ। तर, केही सेकेन्डमै कन्ट्रोलरले तुरुन्तै ट्रकलाई रोकिन आदेश दिएका थिए, तर त्यतिन्जेल ठक्कर भइसकेको थियो।
अडियोमा कन्ट्रोलरले भनेका छन्, “ज्याज ६४६, मैले तपाईं सवारी साधनसँग ठोक्किएको देखें। कृपया आफ्नो स्थानमै रहनुहोला। मलाई थाहा छ तपाईं चल्न सक्नुहुन्न, उद्धार टोली तपाईंको तर्फ आउँदैछ।“
राष्ट्रिय यातायात सुरक्षा बोर्ड (ल्त्क्द्य) ले घटनाको सूचना प्राप्त भएको र अनुसन्धान सुरु गर्ने जनाएको छ। दुर्घटनाको समयमा ला गार्डिया विमानस्थल क्षेत्रमा हल्का वर्षा र कुहिरो लागेका कारण मौसम प्रतिकूल रहेको बताइएको छ।