एजेन्सी । कतारमा एउटा सैन्य हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। कतारको आन्तरिक मन्त्रालयका अनुसार ’प्राविधिक गडबडी’ का कारण खाडी मुलुकको जलक्षेत्रमा उक्त दुर्घटना भएको अलजजिराले समाचारमा उल्लेख गरेकाे छ।
हेलिकप्टरमा सवार कुल सात जनामध्ये छ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने एक जना अझै बेपत्ता छन्। कतारको आन्तरिक मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै बेपत्ता व्यक्तिको खोजीका लागि विशेष टोलीले अपरेसन जारी राखेको अलजजिराले जनाएको छ।
कतारको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दिएको जानकारी अनुसार, उक्त हेलिकप्टर ’नियमित ड्युटी’ मा रहेको बेला प्राविधिक समस्या आएर समुद्रमा खसेको हो। मन्त्रालयले मृतकहरूको परिचय र दुर्घटनाको विस्तृत विवरण भने अझै सार्वजनिक गरेको छैन।
प्रारम्भिक अनुसन्धान अनुसार यो दुर्घटना प्राविधिक कारणले नै भएको देखिएको छ र यसमा कुनै बाह्य वा शत्रुतापूर्ण आक्रमणको संकेत फेला परेको छैन।
यो घटना यस्तो समयमा भएको छ जब क्षेत्रमा सैन्य तनाव उच्च छ। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेयता कतारले पनि पटक–पटक ड्रोन र मिसाइल आक्रमणहरूको सामना गर्दै आएको छ। यद्यपि, यो हेलिकप्टर दुर्घटना र जारी द्वन्द्वबीच कुनै सीधा सम्बन्ध भने नदेखिएको अलजजिराले उल्लेख गरेको छ ।