काठमाडौँ । दरबारमार्गस्थित तीनधारा पाठशालाबाट चैते दशैँको अवसरमा हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राका लागि रथ निर्माण भइरहेको छ। गुठी संस्थानले जानकारी दिएअनुसार, चैत्र शुक्ल प्रतिपदादेखि रथ बनाउने काम सुरु गरिएको हो।
रथ निर्माण यही चैत्र शुक्ल सप्तमी अर्थात् चैत्र ११ गतेसम्म पूरा हुने संस्थानका प्रवक्ता जनक पोखरेलले जानकारी दिए। यस वर्षको रथयात्रा चैत्र १२ गते दिउँसो ४ बजे तीनधारा पाठशालाबाट सुरु हुनेछ। रथयात्रा असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छेन्द्रबहालमा फर्केर समापन हुनेछ। पहिलो दिन रथ असन पु¥याइने र त्यहाँ पूजा, आराधना गरिने परम्परा रहेको छ। रथ निर्माणका लागि आवश्यक काठलगायत व्यवस्था संस्थानले गर्ने चलन छ।रथयात्रा सुरु हुँदा कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर परम्पराअनुसार सहभागी गराइन्छ। सेतो मच्छेन्द्रनाथका पुजारी, समितिका संयोजक र काठमाडौँ महानगरपालिका वडा नं. २५ का पूर्वअध्यक्ष नीलकाजी शाक्यले राससलाई जानकारी दिए। राष्ट्रपतिले रथ दर्शन गर्ने कार्यक्रम चैत्र १२ गते राति करिब १० बजे राष्ट्रपति रामचन्द्र पौडेलले असनमा रथको दर्शन गरी प्रसाद ग्रहण गर्नुहुने कार्यक्रम छ। रथ तानेर असन पुगेपछि राष्ट्राध्यक्षले पूजा एवं दर्शन गर्ने परम्परा प्रत्येक वर्ष कायम छ। तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैते दशैँका दिनदेखि तानिन्छ। यो रथलाई नागराजको प्रतीक मानिन्छ। पहिलो दिन असन, दोस्रो दिन चैत १३ गते वसन्तपुरस्थित कालभैरवसम्म रथ तानेर लगिन्छ भने तेस्रो दिन चैत १४ गते वसन्तपुरबाट लगनसम्म रथ घुमाइन्छ। लगनमा रथ तीनपटक घुमाउने परम्परा छ। सेतो मच्छेन्द्रनाथको रथयात्रा सकेपछि राजधानीमा रातो मच्छेन्द्रनाथको रथयात्रा आयोजना हुने परम्परा छ।