काठमाडौँ। मिथिलाञ्चल क्षेत्रमा श्रद्धा र आस्थाका साथ मनाइने चैती छठ पर्व आजदेखि सुरु भएको छ। यो पर्व तराईका विभिन्न जिल्लामा चार दिनसम्म विशेष धार्मिक विधिअनुसार मनाउने गरिन्छ।
महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा र पर्सा लगायतका जिल्लामा व्रतालुहरूले आज ‘नहा–खा’ विधिबाट पर्वको सुरुआत गरेका छन्। यस दिन स्नान गरी शुद्ध भोजन ग्रहण गर्ने परम्परा रहेको छ। पर्वको अवसरमा गाउँ तथा सहरका पोखरी, तलाउ र नदी किनारमा चहलपहल बढेको छ। सत्य, अहिंसा र प्रकृतिप्रतिको सम्मान झल्काउने यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्ने विशेष परम्परा छ। परिवारको सुख, शान्ति, समृद्धि र स्वास्थ्यको कामनासहित व्रतालुहरू कठोर उपवास बस्ने गर्दछन्। पर्वअन्तर्गत दोस्रो दिन ‘खर्ना’, तेस्रो दिन सन्ध्याकालीन अर्घ तथा अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चैती छठ सम्पन्न हुने गर्दछ। यस अवसरमा ठकुवा, खजुरिया, पेरुकिया लगायतका परिकार तथा विभिन्न फलफूल अर्पण गर्ने परम्परा रहेको छ।