काठमाडौँ । कतारको रास लाफान औद्योगिक क्षेत्रमा भएको भीषण क्षेप्यास्त्र आक्रमणले विश्वव्यापी ऊर्जा आपूर्तिमा उल्लेखनीय असर पारेको छ। आक्रमणपछि तरलीकृत प्राकृतिक ग्यास एलएनजी० उत्पादन तथा निर्यात क्षमतामा करिब १७ प्रतिशत गिरावट आएको जनाइएको छ, जसले आयातमा निर्भर मुलुकहरूमा चिन्ता बढाएको छ।
कतारको सरकारी ऊर्जा कम्पनी कतार इनर्जी ले जारी गरेको विज्ञप्तिअनुसार सन् २०२६ मार्च १८ र १९ मा भएको आक्रमणबाट प्रमुख उत्पादन संरचनाहरूमा गम्भीर क्षति पुगेको छ। ऊर्जा मामिलाका राज्यमन्त्री तथा कम्पनीका प्रमुख साद शेरिदा अल–काबी ले क्षतिग्रस्त संरचनाहरू पूर्ण रूपमा मर्मत गर्न तीनदेखि पाँच वर्ष लाग्न सक्ने बताएका छन्। यसबाट वार्षिक करिब २० अर्ब अमेरिकी डलर बराबरको राजस्व नोक्सानी हुने अनुमान गरिएको छ। यस घटनाले विशेषगरी भारत मा प्रभाव पार्ने देखिएको छ, किनभने भारतले आफ्नो करिब ४७ प्रतिशत एलएनजी कतारबाट आयात गर्दै आएको छ। भारतमा आपूर्ति कमी र मूल्यवृद्धि भएमा त्यसको प्रत्यक्ष असर नेपाल मा पनि पर्ने निश्चित छ। नेपालले सम्पूर्ण पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास इन्डियन आयल कर्पोरेसन ९आईओसी० मार्फत आयात गर्ने भएकाले मूल्यवृद्धिको असर सीधै उपभोक्तामा पर्नेछ।
कतार नेपाली वैदेशिक रोजगारीको प्रमुख गन्तव्य पनि हो। त्यहाँको औद्योगिक क्षेत्रमा आएको अवरोधले हजारौं नेपाली कामदारको सुरक्षामा चिन्ता बढाएको छ। ऊर्जा क्षेत्र प्रभावित हुँदा कतारको अर्थतन्त्रमा दबाब परेमा नेपाली श्रमिकको रोजगारी र नेपाल भित्रिने विप्रेषणमा पनि गिरावट आउन सक्ने अनुमान गरिएको छ। इन्धनको मूल्य वृद्धि भएसँगै ढुवानी खर्च बढ्ने र त्यसको असर बजारमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा पर्ने देखिन्छ। यसले पहिले नै मुद्रास्फीतिको दबाब झेलिरहेको नेपाली अर्थतन्त्रलाई थप चुनौतीपूर्ण बनाउने अर्थविद्हरू बताउँछन्। कतारका अधिकारीहरूका अनुसार आक्रमणबाट एलएनजी उत्पादन गर्ने ‘ट्रेन ४’ र ‘ट्रेन ६’ प्रभावित भएका छन्, जसले वार्षिक १२.८ मिलियन टन उत्पादन गर्थे। साथै ‘पर्ल जीटीएल’ परियोजनामा पनि क्षति पुगेको छ, जहाँ स्वच्छ इन्धन र लुब्रिकेन्ट उत्पादन हुँदै आएको थियो। मन्त्री अल–काबीका अनुसार यस संकटको असर भारतसँगै चीन, दक्षिण कोरिया, इटाली र बेल्जियम मा पनि पर्नेछ। कतारले केही दीर्घकालीन आपूर्ति सम्झौतामा ‘फोर्स मेजेर’ (काबू बाहिरको परिस्थिति) घोषणा गरेको समेत जनाएको छ।