काठमाडौँ । धर्मशास्त्रको पर्याप्त ज्ञानबिना ज्योतिषसम्बन्धी अभिव्यक्ति दिँदा विवाद र आपत्ति उत्पन्न हुने सरोकारवालाहरूले बताएका छन्। ज्योतिष दिवस समारोह–२०८२’ मा बोल्दै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराईले ज्योतिष र धर्मशास्त्रबीच घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै विषयवस्तुको पर्याप्त ज्ञानबिना सार्वजनिक अभिव्यक्ति दिनु उपयुक्त नहुने बताए।
उनले पछिल्लो समय अध्ययनबिनै धारणा सार्वजनिक गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै यसले गलत बुझाइ फैलाउने जोखिम रहेको बताए। “धर्मशास्त्र नबुझी ज्योतिषका विषयमा बोल्दा विवाद उत्पन्न हुन्छ,” उनले भने। भट्टराईले ज्योतिषी, पण्डित, पुरोहित तथा धर्मशास्त्रका जानकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै एउटै दृष्टिकोणका साथ जिम्मेवार अभिव्यक्ति दिनुपर्नेमा जोड दिए। कार्यक्रममा समितिका पूर्वनिर्देशक सूर्यप्रसाद ढुङ्गेलले धर्म, संस्कार र संस्कृतिको संरक्षण चुनौतीपूर्ण बन्दै गएको बताए। उनले परम्परागत मूल्य–मान्यतामा गिरावट आएको उल्लेख गर्दै यसको संरक्षणमा ज्योतिषीहरूको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरे। ढुङ्गेलले आधुनिक प्रविधिको विकाससँगै परम्परागत ज्ञानप्रतिको चासो घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै पर्याप्त अध्ययन र दक्षताको अभावले सेवाग्राहीहरू समेत प्रभावित भएको बताए। उनले ज्योतिष, धर्म र संस्कृतिको संरक्षणका लागि विज्ञहरूले आफ्नो क्षमता अभिवृद्धि गर्दै जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए।