काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास क्षेत्र ‘साउथ पार्स’ पूर्ण रूपमा ध्वस्त पारिदिने चेतावनी दिएका छन्। बुधबार राति इजरायलले इरानको ग्यास क्षेत्रमा गरेको आक्रमणको प्रतिशोध स्वरूप इरानले कतारको औद्योगिक क्षेत्रमा प्रहार गरेपछि ट्रम्पको यस्तो कडा प्रतिक्रिया दिएका हुन् । आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक लामो सन्देश लेख्दै ट्रम्पले इजरायलले गरेको उक्त आक्रमणबारे अमेरिकालाई कुनै जानकारी नभएको स्पष्ट पारेका छन् ।
इरानले कतारको ‘रास लाफान’ क्षेत्रमा गरेको आक्रमणलाई ‘अन्यायपूर्ण’ संज्ञा दिँदै उनले आगामी दिनमा कतारमाथि पुनः आक्रमण भए गम्भीर परिणाम भोग्नुपर्ने बताएका हुन् । ‘मध्यपूर्वमा विकसित घटनाक्रमको आक्रोशमा इजरायलले हिंस्रक रूपमा जवाफ फर्काएको हो’, ट्रम्पले लेखेका छन्, ‘यस विशेष आक्रमणका बारेमा संयुक्त राज्य अमेरिकालाई केही थाहा थिएन र कतार पनि कुनै पनि रूपमा यसमा संलग्न थिएन, न त उसलाई यसबारे कुनै जानकारी नै थियो ।’ इरानले सत्यतथ्य नबुझी कतारमाथि प्रतिशोधात्मक आक्रमण गरेको ट्रम्पको दाबी छ ।