काठमाडौँ । परिवर्तन गाउँपालिका–५ कोरलका कक्षा ९ मा अध्ययनरत १५ वर्षीय विद्यार्थी उमित बुढामगरले घरेलु सामग्री प्रयोग गरी बन्दुक निर्माण गरेका छन्। परिवर्तन गाउँपालिका–१ कुरेलीस्थित बाल कल्याण मावि उपबाङ्मा अध्ययनरत बुढामगरले करिब दुई साताको मेहनतपछि ‘एम–१४’ नाम दिइएको उक्त बन्दुक तयार पारेका हुन्।
आवश्यक स्रोत–साधन जुटाउन कठिनाइ भए पनि प्रयोगविहीन सामग्रीको सदुपयोग गरेर बन्दुक बनाएको उनले बताएका छन्। उनका अनुसार बन्दुक निर्माणमा काठ, फलामको पाइप, ब्याट्री र बाँस प्रयोग गरिएको छ। सलाइको काँटी प्रयोग गरेर बन्दुक पड्काउन सकिने उनले जानकारी दिए। उनले उक्त बन्दुक चराहरू धपाउनका लागि बनाएको बताएका छन्। बुढामगरको यस कार्यपछि स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा सुरक्षाकर्मीले उनलाई खादा र अबिर लगाएर सम्मान गरेका छन्। सम्मान गर्नेहरूमा वडाध्यक्ष मैते बुढा मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रवीणकुमार बुढामगर र प्रधानाध्यापक पूर्णबहादुर वलीलगायत रहेका छन्। उक्त पालिका यसअघि पनि विभिन्न कारणले चर्चामा रहँदै आएको छ। २०८० सालमा वडा नम्बर–४ पाछाबाङकी खुशी बुढामगरले १० महिनामै ७ वटा लोकसेवा परीक्षा उत्तीर्ण गरेपछि देशभर चर्चा बटुलेकी थिइन्।